सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी तीन दिन बितिसक्दा पनि प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् । प्रहरीले सम्भावित स्थानमा निगरानी बढाउनुका साथै अन्य जिल्लाका प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको छ ।
गत शुक्रबार राति कारागारको पक्की संरचना भत्काएर सेफ्टी ट्यांकी हुँदै उनीहरू फरार भएका थिए । फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन् ।
१०० जनाको क्षमता रहेको कारागारमा घटनाका बेला १७ कैदीबन्दी र सुरक्षाका लागि १५ प्रहरी थिए । सुरक्षाकर्मीको उपस्थितिमा समेत आठ जना फरार हुनुले कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।
प्रहरीले सुरक्षाकर्मी र अन्य कैदीबन्दीसँग बयान लिनुका साथै सीसीटीभी फुटेज अध्ययन गरिरहेको छ । सुरुङ खन्न प्रयोग गरिएका सामग्रीबारे पनि अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार फरार हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाया र वडा नम्बर–४ का २८ वर्षीय हरिबहादुर बुढा (धनबहादुर) रहेका छन् ।
त्यस्तै, जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक र नलगाड नगरपालिका–९ का १९ वर्षीय कपिल परियार (कैलाश) पनि फरार भएका छन् ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी, वडा नम्बर–१० का ३२ वर्षीय रामबहादुर कामी र वडा नम्बर–३ का ३२ वर्षीय आदेश भण्डारी (निशान) फरार सूचीमा छन् ।
सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेशम राना पनि फरार रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया