काठमाडौं । नेकपा नेता तथा सांसद युवराज दुलालले वर्तमान सरकार चौतर्फी रूपमा चुकेको र जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता दुलालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनतालाई धेरै आश्वासन र सपना देखाए पनि व्यवहारमा सुशासन र राहत दिन नसकेको बताए ।
‘सय दिन सरकार चलाउन पाए धेरै काम गर्छौँ भनेर जनतालाई धेरै आश्वासन र सपना देखाएर रास्वपा आएको हो,’ दुलालले भने, ‘सुशासन कायम होस्, सिस्टम बसोस्, भ्रष्टाचारीलाई कारबाही होस् भनेर जनताले रास्वपालाई साथ दिएका हुन् । तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेको छैन ।’
चाडबाडको मुखमा चिनीलगायतका अत्यावश्यक खाद्यवस्तुको मूल्य आकाशिएको उल्लेख गर्दै उनले बजारमा मूल्य नियन्त्रण गर्नुपर्छ भन्ने बोध नै सरकारलाई नभएको टिप्पणी गरे । महँगी र कृत्रिम अभाव नियन्त्रण गरी विपन्न वर्गलाई तत्काल राहत दिनुपर्नेमा उनले जोड दिए ।
सुकुम्बासी समस्या र प्राकृतिक विपत्तिको व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको दुलालको भनाइ छ । ‘सरकार बनेको महिना दिनमै सुकुम्बासी नागरिकलाई हटाउने कार्य भयो, तर उनीहरूलाई उचित व्यवस्थापन गर्न सरकार चुक्यो,’ उनले भने, ‘भोटेकोशी बाढीपीडितले अझै राहत पाएका छैनन् । राज्यकोषमा अर्बौँ रकम थुप्रेको छ, तर कोठा भाडादेखि क्रियाखर्चसम्म उपलब्ध गराइएको छैन । ग्यासको अभाव उस्तै छ । सरकारले आखिर के काम गर्यो त ?’
बजेटमा शिक्षा, स्वास्थ्य र बिजुली जस्ता आधारभूत क्षेत्रमा भ्याट लगाएर जनताको ढाड सेक्ने काम गरिएको उनले आरोप लगाए । साथै, सरकारका औपचारिक निर्णयहरू प्रधानमन्त्रीको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुनु अपरिपक्वता भएको उनले बताए ।
अदालत र न्यायधीशको भूमिकाबारे टिप्पणी गर्दै दुलालले पदीय मर्यादा उल्लङ्घन गर्ने न्यायाधीशमाथि कारबाही हुनुपर्ने माग गरे । ‘न्यायाधीशहरूले होटलमा गएर बिचौलिया भेट्नु पदीय मर्यादाको गम्भीर उल्लङ्घन हो,’ उनले भने, ‘अदालतले आफ्नो सीमा नाघ्नु हुँदैन ।’
सांसद दुलालले अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई लिएर पनि कडा आपत्ति जनाए । अर्थमन्त्री वाग्लेले ‘भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग सकियो’ भन्नु गलत भएको उल्लेख गर्दै उनले भने, ‘नेपाली राष्ट्रवाद कहिले पनि भारतविरोधी थिएन र छैन । स्वर्णिम वाग्लेले भारतको चाकडी र गुलामी गर्न त्यसो भनेका हुन् । राष्ट्रियताको सवालमा उनले बोलेको कुरामा रास्वपाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ ।’
प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरिरहेको आरोप लगाउँदै दुलालले समाचार कक्षमै प्रहरी पसेर पत्रकार पक्राउ गर्नु ‘राज्य आतंक’ भएको बताए । स्वतन्त्र प्रेसलाई गैरकानुनी ढंगले आतंकित पार्ने काम तत्काल रोक्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया