काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
घिसिङले फेसबुकमार्फत छठ पर्व मनाउन घर फर्किरहेका एकै गाउँका १० जनाको ज्यान गएको घटनाले आफू अत्यन्तै मर्माहत भएको बताएका छन्।
उनले लेखेका छन्, “यस हृदयविदारक दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
घिसिङले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध गराउन र घाइतेहरूको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
उनले चाडपर्वका समयमा हरेक वर्ष सडक दुर्घटना बढ्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै सवारीसाधनमा सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, “चाडपर्वको खुसी मनाउन घर फर्किने यात्राको अन्त्य शोकमा हुन नदिन सरकार, यातायात व्यवसायी र यात्रु सबै जिम्मेवार बनौँ। सडक सुरक्षा र नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकता दिऔँ।”
विद्युतीय सवारीसाधनका विशिष्ट प्राविधिक पक्षलाई ध्यानमा राखेर चालकलाई आवश्यक तालिम र सचेतना प्रदान गर्नुपर्नेमा समेत उनले जोड दिएका छन्।




प्रतिक्रिया