सरकारविरुद्ध आन्दोलनको औचित्य छैन, सुशासन र पुनर्निर्माणमा जोड दिऔँ : धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अहिले सरकारविरुद्ध आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धमलाले विपक्षी दलहरूले सरकारविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको चर्चाप्रति टिप्पणी गर्दै आन्दोलनभन्दा जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राखेका हुन्।

‘अहिले आन्दोलनको आवश्यकता छैन। आन्दोलन गरेर देश निर्माण हुँदैन,’ उनले भने।

उनले सरकार ढाल्ने उद्देश्यले आन्दोलन गर्नुभन्दा सुकुम्बासीलाई घर उपलब्ध गराउन र बाढीपीडितको पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्नेमा जोड दिए। ‘अहिले सरकार ढाल्न आन्दोलन गर्ने होइन, सुकुम्बासीलाई घर बनाइदिन आन्दोलन गर्नुपर्‍यो,’ उनले भने।

धमलाले सरकारलाई सुशासन स्थापना गर्न, बढ्दो महँगी नियन्त्रण गर्न तथा सुकुम्बासी र बाढीपीडितका समस्या समाधान गर्न आग्रह गरे। प्रधानमन्त्री र अर्थमन्त्रीले मूल्यवृद्धि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।

बाढीपीडितको पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले आगामी ६ महिनाभित्र पीडितका लागि घर निर्माण गरिसक्नुपर्नेमा जोड दिए।

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउने दिशामा काम गर्नुपर्ने धारणा पनि उनले राखे।

२०४६ सालको जनआन्दोलनमा आफू पनि नेतृत्वदायी भूमिकासहित अगाडि बढेको स्मरण गर्दै धमलाले अहिलेको अवस्थामा सरकारविरुद्ध आन्दोलन गर्नुभन्दा देश निर्माण र जनताका आधारभूत समस्या समाधानमा सबै पक्ष केन्द्रित हुनुपर्ने स्पष्ट पारे।