काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्लो समय बढ्दै गएको सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।
मकवानपुरको चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएपछि उनले सडक सुरक्षासम्बन्धी विद्यमान व्यवस्थामाथि प्रश्न उठाएका हुन्।
छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रुहरूको दुर्घटनामा परी ज्यान गएको घटनाले आफूलाई दुःखी बनाएको उल्लेख गर्दै आङ्देम्बेले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
उनले सवारीसाधनको प्राविधिक अवस्था, क्षमताभन्दा बढी यात्रु राखिएको वा नराखिएको विषय तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण राख्ने प्रणालीबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
सडक सुरक्षाका लागि सवारीसाधनको नियमित प्राविधिक परीक्षण, यात्रुको विवरण व्यवस्थित अभिलेख र प्रहरी निगरानीलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। नागरिकको जीवन रक्षा सरकारको प्राथमिक दायित्व भए पनि सडक सुरक्षाका विषयमा अपेक्षित गम्भीरता नदेखिएको उनले टिप्पणी गरेका छन्।
यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको ज्यान गएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै आङ्देम्बेले असन्तुष्टि जनाएका छन्।
दुर्घटनापछि समिति गठन गर्ने, केही समय चर्चा गर्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने र घटनालाई बिर्सने प्रवृत्तिले समस्या समाधान नहुने उनको धारणा छ।
उनले दुर्घटनाका वास्तविक कारण पत्ता लगाई दोषीलाई कारबाही गर्न तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन र प्रभावकारी सडक सुरक्षा नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।





प्रतिक्रिया