काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै पार्टीभित्र गुटबन्दी बढाउने र नेतृत्व कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।
शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट खडा गर्न खोजेको दाबी गरे ।
पौडेलका अनुसार सरकारले अन्य दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको पार्टी कमजोर बनाउने भन्ने खेलमा लाग्नु लोकतान्त्रिक अभ्यासविपरीत हो ।
उनले बलियो जनमतसहित सरकार गठन भएको अवस्थामा जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नु गलत भएको बताए ।
विगतमा केही राजनीतिक दलका नेताहरू मिलेर गठबन्धनको सिन्डिकेटमार्फत शासन सञ्चालन गर्न खोजेको र त्यसलाई कांग्रेसले तोडेको प्रसंग उल्लेख गर्दै पौडेलले अहिले फेरि त्यस्तै अभ्यास दोहोर्याउन खोजिएको आरोप लगाए ।
रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार काम गर्न आग्रह गर्दै उनले अरू दलको आन्तरिक मामिलामा हात नहाल्न सचेत गराए ।
‘लोकतन्त्र भनेको विधिको शासन, जवाफदेहिता र फरक मतको सम्मान हो। जनताको विश्वास प्राप्त सरकारले अन्य दलमा गुटबन्दी र नियन्त्रणको राजनीति गर्नुभन्दा जनताको पक्षमा काम गर्नुपर्छ,’ पौडेलले भने ।




प्रतिक्रिया