२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्।
यूएई सरकारको औपचारिक निमन्त्रणामा उनी शुक्रबार साँझ ७ बजे दुबईका लागि प्रस्थान गरेका हुन्। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधि र अपराध नियन्त्रणका नयाँ अभ्यासबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ।
सम्मेलनमा विभिन्न देशका मन्त्री, सुरक्षा निकायका प्रमुख तथा विज्ञहरूको सहभागिता रहनेछ। कार्यक्रममा सुरक्षा नीति, प्राविधिक विकास, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, कार्यशाला, तालिम, उच्चस्तरीय राउन्डटेबल बैठक तथा अन्तर्राष्ट्रिय प्रदर्शनीलगायतका गतिविधि सञ्चालन हुनेछन्।
यसपटकको सम्मेलनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध अनुसन्धानलाई विशेष प्राथमिकता दिइएको छ।
त्यसैगरी ड्रोन तथा रोबोट प्रविधि, आधुनिक फरेन्सिक अनुसन्धान, गुप्तचर सूचना, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भू–उपग्रहमा आधारित सुरक्षा प्रविधिलगायत १४ विषयगत क्षेत्रमा छलफल हुनेछ।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा सुरक्षा प्रविधि, प्राविधिक सहयोग र अनुभव आदानप्रदानका साथै मानव बेचबिखन, मानव तस्करी तथा साइबर अपराध नियन्त्रणका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।




प्रतिक्रिया