सांसद बुढाथोकीको पहलमा खिम्ती–ठोसे–शिवालय १,२१६ मेगावाटकाे आयोजनाका लागि ३ करोड विनियोजन


२७ कात्तिक, काठमाडौं । रामेछापको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन महत्वपूर्ण पहल भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापबाट निर्वाचित सांसद तथा अर्थसमितिका सभापति डा. कृष्णहरि बुढाथोकीको विशेष पहलमा १ हजार २१६ मेगावाट क्षमताको उक्त आयोजना अध्ययन तथा अनुसन्धानको चरणमा अघि बढ्ने भएको हो।


सांसद बुढाथोकीको निरन्तर पहलपछि आयोजना योजनामा समावेश हुनुका साथै अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा आवश्यक प्रारम्भिक प्रक्रिया अघि बढाउन ऊर्जा मन्त्रालयबाट ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।


यसै विषयमा आज ऊर्जा मन्त्री तथा ऊर्जा सचिवसँग भेटघाट गरी आयोजना शीघ्र अघि बढाउने सम्बन्धमा महत्वपूर्ण छलफल गरिएको बुढाथोकीले जानकारी दिएका छन्। भेटका क्रममा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए), सरोकारवालासँग छलफल र अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन उनले मन्त्री तथा सचिवको ध्यानाकर्षण गराएका थिए। साथै, आयोजनालाई अगाडि बढाउन आवश्यक पहल र सहजीकरण गर्नसमेत आग्रह गरेको उनकाे भनाइ छ ।


खिम्ती–ठोसे–शिवालय आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले समेत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना मानिएको छ।


आयोजना कार्यान्वयनमा आउन सके रामेछापको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुग्नुका साथै मुलुकको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


रामेछापको विकास र समृद्धिलाई राष्ट्रिय विकाससँग जोड्ने लक्ष्यसहित आफूले आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्‍याउन निरन्तर पहल गर्ने सांसद बुढाथोकीले प्रतिबद्धता व्यक्त गरेका छन्।