‘रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्था आयो’: कांग्रेस सहमहामन्त्री शिवाकोटी


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीच समन्वयको अभाव देखिएको टिप्पणी गरेका छन् । सरकार आफ्नै पार्टीको सहयोग र समन्वय पाउन नसक्ने अवस्थामा पुगेको उनको आरोप छ ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शिवाकोटीले रास्वपाभित्र सरकारको स्वामित्व र जिम्मेवारीलाई लिएर अन्योल देखिएको बताए ।

‘सरकारलाई आज सरकार चलाउन गाह्रो भइरहेको छ । रास्वपालाई मेरो सरकार हो कि अर्काको सरकार हो भन्ने अवस्थामा ऊ पुगेको छ,’ उनले भने, ‘सरकारलाई आफ्नै पार्टीले सहयोग गरिरहेको छैन भन्ने आधारमा त्यहाँभित्र यो पक्ष र त्यो पक्ष भन्ने अवस्था सिर्जना भएको छ ।’

उनले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोपसमेत लगाए । लोकतन्त्र निर्वाचनबाट जनप्रतिनिधि चयन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने उनको भनाइ छ ।

‘लोकतन्त्रका आधारभूत मान्यता, विधि, पद्धति र संस्थागत स्वतन्त्रताको सम्मान पनि उत्तिकै आवश्यक छ,’ उनले भने, ‘सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका पछिल्ला गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने काम गरिरहेका छन् । राज्यका निकाय, संवैधानिक अङ्ग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढाइएको छ ।’

कर्मचारीतन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न नदिइएको र कर्मचारीहरू त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको पनि शिवाकोटीले दाबी गरे । दुई तिहाइ निकटको बहुमतसहित बनेको सरकार आफ्नै राजनीतिक भार सम्हाल्न नसक्ने अवस्थामा पुगेको उनको टिप्पणी थियो ।

सरकार र रास्वपाका तर्फबाट सार्वजनिक भइरहेका धारणा तथा स्पष्टीकरणमा समेत तालमेल नरहेको उनले बताए । सरकार र पार्टीबीचको समन्वय अभावले सरकार सञ्चालनमै समस्या देखिएको उनको भनाइ थियो ।

यसैगरी, सरकारमाथि उठिरहेका प्रश्नबाट जनताको ध्यान मोड्न बालुवाटार र ज्वागलबाट प्रोपोगाण्डा सञ्चालन भइरहेको आरोप पनि उनले लगाए । प्रधानमन्त्री, उनका निकट व्यक्ति तथा प्रमुख सल्लाहकारमार्फत भइरहेका प्रचारले लोकतन्त्रलाई बलियो नबनाउने उनको तर्क छ ।

कांग्रेसले सरकारका कामको गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने नीति लिएको उनले स्पष्ट पारे । तर, सरकारले आफ्नो कार्यशैली नसच्याए गम्भीर राजनीतिक परिस्थिति उत्पन्न हुन सक्ने चेतावनीसमेत दिए ।

‘सरकारले अहिलेको कार्यशैली नसच्याए गत भदौ २४ मा जस्तै सरकारको नेतृत्व गरेकाहरूले भाग्नुपर्ने परिस्थिति आउन सक्छ,’ उनले भने ।

जेनजी आन्दोलनपछि पनि मुलुकको अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको उल्लेख गर्दै शिवाकोटीले देशमा असन्तुष्टि जुनसुकै बेला आन्दोलन वा विद्रोहका रूपमा प्रकट हुन सक्ने बताए ।

‘अहिले पनि देश सम्हालिएको छैन । यो कुनै पनि बेला भुसको आगो जसरी सल्किन सक्छ भन्ने कुरा सरकारले बुझोस् । यो कुनै पनि स्वरूपमा आन्दोलन वा विद्रोह हुन सक्छ,’ उनले चेतावनी दिए ।