१४ महिने विपन्न बालिकाको निःशुल्क उपचारको जिम्मा लिँदै डा. सुनील शर्मा


काठमाडौं । छोरीको टाउकोमा गम्भीर चोट छ। टाउकोमा पानी जमेको छ, जतिसक्दो चाँडो फेरि शल्यक्रिया गर्नुपर्छ। चिकित्सकले लाखौँ रुपैयाँ खर्च लाग्ने बताए पनि आमाको हातमा उपचार गराउने पैसा छैन। श्रीमानले समेत साथ छाडेर गइसकेका छन्। गरिबी र अभावसँग जुध्दै आएकी एउटी आमाका लागि १४ महिने छोरीको जीवन बचाउने उपाय लगभग बन्द भइसकेको थियो। तर, यही निराशाबीच एउटा यस्तो सहारा आइपुग्यो, जसले उनको आँखामा फेरि आशा भरिदियो।

  • भावुक हुँदै बालिकाकी आमाले भनिन्, ‘भगवान् कहाँ बस्नुहुन्छ, थाहा छैन। हामीले भेट्न पनि पाएका छैनौँ। तर, हाम्रा लागि हाम्रो भगवान् तपाईं नै हो।’

मोरङको रतुवामाई नगरपालिका–१, कल्याणपुरकी रिबा टुडु सन्थालकी १४ महिने छोरी यामिनी तीन महिनाअघि खाटबाट लडेर गम्भीर घाइते भएकी थिइन्। लडेर टाउकोमा गम्भीर चोट लागेपछि बेहोस भएकी उनलाई परिवारले अस्पताल पुर्‍याएको थियो। त्यहीँ उनको शल्यक्रियासमेत गरियो।

उपचारपछि यामिनीको स्वास्थ्यमा केही सुधार त आयो, तर समस्या पूर्ण रूपमा समाधान भएको थिएन। टाउकोमा पानी जमेको र फेरि शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाहपछि रिबाको चिन्ता झन् बढ्यो। शल्यक्रियाका लागि लाखौँ रुपैयाँ खर्च लाग्ने भएपछि उनीसँग छोरीको उपचारलाई निरन्तरता दिने कुनै उपाय थिएन। श्रीमानले समेत केही समयअघि छाडेर गएपछि छोरीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो। सीमान्तकृत सन्थाल समुदायकी रिबाका लागि गरिबी र अभावबीच छोरीको उपचार गराउनु निकै ठूलो चुनौती बनिसकेको थियो।

यस्तै अवस्थामा रिबाको परिवारका लागि अप्रत्याशित रूपमा सहयोगको हात अघि बढ्यो। नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्मा तिहारका बेला मोरङ पुगेका थिए। त्यही क्रममा स्थानीय कांग्रेसका नेताहरूले उनलाई रिबाको पारिवारिक अवस्था र छोरी यामिनीको गम्भीर स्वास्थ्य समस्याबारे जानकारी गराए। बालिकाको उपचारका लागि ठूलो रकम आवश्यक पर्ने तर परिवारसँग त्यसको व्यवस्था गर्न सक्ने अवस्था नरहेको थाहा पाएपछि शर्माले तत्कालै उपचारको सम्पूर्ण जिम्मेवारी आफैँ लिने घोषणा गरे। उनले रिबालाई छोरी लिएर काठमाडौं आउन आग्रह गर्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा सम्पूर्ण उपचार निःशुल्क गरिदिने बताए। तिहारको टीकाको एक दिनअघि गाउँमै पुगेर शर्माले दिएको यो आश्वासन रिबाका लागि अँध्यारोमा भेटिएको उज्यालोजस्तै बन्यो।

त्यसपछि छोरीलाई निको पार्ने आशा बोकेर रिबा काठमाडौं आइपुगिन्। केएमसी आइपुग्नेबित्तिकै डा. शर्माको निर्देशनमा यामिनीको उपचार प्रक्रिया अघि बढाइयो। अस्पतालमा भर्ना हुनुअघि नै बालिकाको अवस्थाबारे जानकारी लिन र परिवारलाई ढाडस दिन शर्मा आफैँ अस्पताल पुगेका थिए। छोरीको उपचारको चिन्ताले थिचिएकी रिबाका लागि शर्माले दिएको भरोसा आर्थिक सहयोग मात्र नभएर एउटी असहाय आमाले खोजिरहेको मानवीय साथ पनि थियो।

शर्माले रिबा र यामिनीसँगै उभिएर बालिकाको उपचारबारे जानकारी दिँदै भने, ‘उहाँहरू मोरङको रतुवामाई–१ बाट आउनुभएको हो। यो ठाउँ भारतको सीमाना नजिक पर्छ। म तिहारमा मोरङ गएको बेला उहाँहरूलाई भेटेको थिएँ। उहाँकी छोरीको ब्रेनमा समस्या छ। सोमबार अपरेसन हुन्छ। उनको सम्पूर्ण उपचारको जिम्मा हामीले लिएका छौँ। खानबस्नसहितको सम्पूर्ण उपचार निःशुल्क गर्दैछौँ।’

शर्माको यही प्रतिबद्धताले रिबालाई छोरीको जीवनप्रति फेरि आशावादी बनाएको छ। छोरीको उपचारका लागि लाखौँ रुपैयाँ जुटाउन नसकेर निराश बनेकी उनी अहिले छोरी निको भएर घर फर्किने दिनको प्रतीक्षामा छिन्। आफूले पाएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दा रिबाका आँखामा खुसीका आँसु थामिएका थिएनन्। उनले भनिन्, ‘सुनील सर मेरै गाउँमा जानुभएको थियो। तिहारको टीकाको एक दिनअघि हामीलाई भेट्नुभएको थियो। टीकापछि केएमसी जान भन्नुभएको थियो। त्यसपछि हामी यहाँ आएका हौँ। सम्पूर्ण उपचार निःशुल्क हुने भएपछि केएमसी परिवारलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद भन्न चाहन्छु।’

छोरीको टाउकोमा पानी जमेको र छिट्टै अपरेसन गर्नुपर्ने चिकित्सकले बताएको उल्लेख गर्दै उनले उपचारमा लाग्ने लाखौँ रुपैयाँ आफूहरूसँग नभएको सुनाइन्। ‘यो अपरेसन गर्न लाखौँ खर्च लाग्छ। हामीसँग पैसा नै छैन। अहिले डा. शर्माले सबै निःशुल्क गरिदिनुभएको छ। उहाँहरूले हामीलाई यति ठूलो गुन लगाउनुभएको छ। यसको जति धन्यवाद दिए पनि पुग्दैन,’ उनले भनिन्।

‘सुनील शर्मा सरलाई आज एउटा कुरा भन्न चाहन्छु। मेरो गाउँमा मभन्दा पनि धेरै दुःखी र गरिब छन्। उहाँहरूलाई पनि छुट गरिदिनुहोला। हाम्रो जातिमा यस्ता दुःखी–गरिब धेरै छन्,’ उनले भावुक हुँदै भनिन्। आफूले पाएको सहयोगलाई शब्दमा व्यक्त गर्न नसकिरहेकी रिबाले डा. शर्मालाई भगवानसरह मानेकी छन्। ‘भगवान् कहाँ बस्नुहुन्छ, थाहा छैन। हामीले भेट्न पनि पाएका छैनौँ। तर, हाम्रा लागि हाम्रो भगवान् तपाईं नै हो। जसले यस्तो काम गर्छ, त्यही नै भगवान् हो। म उहाँलाई भगवान् मान्छु। हाम्रा लागि उहाँ भगवान्भन्दा पनि ठूलो हुनुहुन्छ। म यो गुन कहिल्यै बिर्सिन्नँ। जीवनभर आभारी रहनेछु,’ रिबाले भनिन्।

यामिनीको उपचार सफल होस्, उनी चाँडै पूर्ण रूपमा निको भएर आमाको काखमा हाँस्दै घर फर्किऊन्। एउटी आमाको आँखामा फर्किएको खुसी कहिल्यै नहराओस्।