शेरबहादुर देउवा भन्छन्: पाँचपटक प्रधानमन्त्री बनाएको कांग्रेसका लागि ज्यान दिन तयार छु


२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई पाँचपटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिनसमेत तयार रहेको बताएका छन्।

देउवा समूहको ललितपुर जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेका हुन्।

‘पाँचपटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन। जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बनायो, त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ,’ देउवाले भने।

कांग्रेस नेपाली जनताले निर्माण गरेको पार्टी भएकाले कसैले पनि आफ्नो नियन्त्रणमा लिन नसक्ने उनको दाबी थियो। उनले पार्टीमाथिको अधिकार जनताका प्रतिनिधिमै निहित रहेको बताए।

‘नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो। नेपाली जनताको पार्टी हो। जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन,’ उनले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा आफूले न्याय पाएको प्रसंग उल्लेख गर्दै देउवाले अदालतप्रति आफ्नो विश्वास कायमै रहेको बताए। आफूमाथि उठाइएको १८ करोड रुपैयाँसम्बन्धी विषयमा पनि अदालतबाट निष्पक्ष न्याय पाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

‘अदालतमा मेरो विश्वास छ। १८ करोडको कुरा आएको छ। अदालतले निष्पक्ष न्याय दिनेमा विश्वस्त छु,’ उनले भने।

देउवाले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई षड्यन्त्रको संज्ञासमेत दिए। लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूका सन्तानका घर तथा आश्रम छानीछानी जलाइएको उनको दाबी थियो।

‘त्यो षड्यन्त्र थियो। जो लोकतन्त्रका लागि लडे, जेल जीवन बिताए, ती नेताका सन्तानका घर र आश्रम छानीछानी जलाइएको छ,’ उनले भने।