काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला छिमेकी मुलुक भारत भ्रमणको तयारीमा जुटेका छन् ।
सरकारले भ्रमणको औपचारिक मिति सार्वजनिक नगरिसके पनि प्रम बालेन मङ्सिर ६ देखि ८ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने गरी तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले भ्रमणको मिति र एजेन्डा सार्वजनिक गर्ने जनाइएको छ ।
विगतमा सरकार प्रमुख विदेश भ्रमणमा निस्कँदा र फर्कँदा सडक तथा विमानस्थलमा देखिने अनावश्यक तामझाम, तडकभडक, भीआईपी सवारीको नाममा लामो लावालस्कर र कार्यकर्ताको लर्केताँती लगाउने दृश्यहरू यसपालि नहुने रास्वपा स्रोतले जनाएको छ । सादगीपूर्ण र चुस्त कार्यशैली अपनाउँदै आएका प्रम बालेनले भारत भ्रमणमा जाँदा र आउँदा पनि भड्किलो राज्यको स्रोत शक्ति प्रदर्शनलाई पूर्णरूपमा निरुत्साहित गर्ने तयारी गरेका छन् । यसअघि राष्ट्रसंघको महासभामा जाँदा पनि उनले सडक र विमानस्थलमा कुनै तामझाम गरेका थिएनन् ।
नेपाल-भारत सम्बन्धको परम्परागत आयामलाई निरन्तरता दिँदै यसपटकको भ्रमणमा द्विपक्षीय सम्बन्ध विस्तारसँगै कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा, सिँचाइ र पर्यटनलाई मुख्य एजेन्डा बनाउने सरकारको तयारी छ ।
प्रम बालेनको दिल्ली यात्राको चाँजोपाँजो मिलाउन भारतीय विदेश सचिव विक्रम मिश्रीले गत कात्तिक १९ गते काठमाडौँ ओर्लिएर कूटनीतिक सक्रियता देखाइसकेका छन् । मिश्रीले प्रम बालेनसहित सम्बद्ध मन्त्रालयका नेतृत्वसँग गरेको भेटवार्ताले दुई देशबीचको संवादलाई तीव्रता दिएको हो ।
नेपाली राजनीतिमा सरकार प्रमुख विदेश भ्रमणमा निस्कनुअघि पूर्वप्रधानमन्त्री, विपक्षी दलका नेता तथा परराष्ट्र मामिलाका जानकारहरूसँग परामर्श गर्ने लामो अभ्यास रहिआएको थियो । राष्ट्रिय सहमति र कूटनीतिक परिपक्वता देखाउन गरिने यस्तो अभ्यासलाई प्रम बालेनले यसपलि तोडेका छन् ।
यसअघि संयुक्त राष्ट्रसंघ (अमेरिका) भ्रमणका बेला जस्तै भारत भ्रमणको पूर्वसन्ध्यामा पनि प्रधानमन्त्रीले विपक्षी र पूर्वप्रधानमन्त्रीहरूसँग संवादको आवश्यकता ठानेका छैनन् ।
यस्तै, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रमको भ्रमणबारे औपचारिक सुझाव दिएको अहिलेसम्म सार्वजनिक भएको छैन ।
यो अवस्थामा रास्वपा सरकारका प्रधानमन्त्री बालेनले गर्ने भारत भ्रमणले द्विपक्षीय सम्बन्धमा कस्तो कूटनीतिक र व्यावहारिक परिणाम ल्याउँछ, त्यो भने भारतीय समकक्षी नरेन्द्र मोदी र दिल्लीमा गरिने संवादले नै तय गर्नेछ ।




प्रतिक्रिया