जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको सामुदायिक शिक्षा सुधारका लागि स्थानीय सरकार, समुदाय र विद्यालय स्वयंले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
शुक्रबार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यादवले नेपालको वर्तमान शिक्षा प्रणाली सन्तोषजनक नरहेको टिप्पणी गरे ।
उनले सार्वजनिक र निजी शिक्षाबीच रहेको विभाजनले शैक्षिक क्षेत्रमा असमानता बढाएको धारणा राखे । शिक्षालाई समाजमा समानता कायम गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने भए पनि नेपालमा दुई प्रकारको शिक्षा प्रणाली स्थापित हुँदा त्यसको मूल उद्देश्य कमजोर बनेको उनको भनाइ थियो ।
यादवले शिक्षा सुधारका लागि परिवार, समाज, विद्यालय र स्थानीय सरकारलाई मुख्य जिम्मेवार पक्षका रूपमा लिनुपर्ने बताए । विशेषगरी गाउँपालिका र नगरपालिकाले सामुदायिक विद्यालयको स्वामित्व लिएर जिम्मेवारी निर्वाह नगरेसम्म शैक्षिक सुधार सम्भव नहुने उनले उल्लेख गरे ।
विगतमा समुदाय आफैँले विद्यालय सञ्चालन र व्यवस्थापन गर्ने गरेको स्मरण गर्दै उनले अहिले स्थानीय तहका जनप्रतिनिधिले उक्त जिम्मेवारी बहन गर्नुपर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकलाई पनि सक्षम र उत्तरदायी बनाउनुपर्नेमा उनले जोड दिए ।
निजी र सामुदायिक शिक्षाबीचको विभाजनप्रति असन्तुष्टि व्यक्त गर्दै यादवले भने, ‘हामीले शिक्षालाई समाज समान बनाउने माध्यमका रूपमा बुझ्यौँ । तर हामीले दुईवटा धार बनाएर अहिले निजी शिक्षा र सामुदायिक शिक्षा भनेर देशको शिक्षा बिगारिसकेका छौँ ।’
स्थानीय सरकारको जिम्मेवारीबारे उनले थपे, ‘जब गाउँपालिका वा नगरपालिकाले शिक्षाको जिम्मेवारी लिँदैन, तबसम्म शिक्षा सुधार हुँदैन । पहिले समुदायले जिम्मा लिन्थ्यो, अहिले त्यही समुदायका जनप्रतिनिधिले जिम्मा लिनुपर्छ ।’
पूर्वराष्ट्रपति यादवले शिक्षक तथा प्राध्यापकको सम्मान र मर्यादा पुनःस्थापित गर्नुपर्ने आवश्यकता पनि औँल्याए । विकसित मुलुकमा शिक्षक र प्राध्यापकलाई उच्च सम्मानसँगै उचित पारिश्रमिक दिने गरिएको उल्लेख गर्दै उनले नेपालमा भने शिक्षकले समयमै तलबसमेत नपाउने अवस्थाप्रति चिन्ता व्यक्त गरे ।




प्रतिक्रिया