नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच नयाँदिल्लीस्थित होटल ताजमा भेटवार्ता भएको हो।
यसअघि भारतीय विदेशमन्त्री जयशंकरले सोही होटलमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए। प्रधानमन्त्रीसँगको भेटपछि दुई देशका परराष्ट्रमन्त्रीबीच सोमबार हुने उच्चस्तरीय द्विपक्षीय वार्ताको तयारीका विषयमा छलफल भएको हो।
भेटका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीसहित दुवै देशका प्रतिनिधिमण्डलबीच हुने औपचारिक वार्तामा उठाइने विषय, साझा सन्देश तथा सम्भावित सम्झौताबारे कुराकानी भएको बताइएको छ।
त्यसैगरी, दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा अघि बढाइने विभिन्न परियोजनाका विषयमा पनि छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।




प्रतिक्रिया