काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउनुका साथै आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा नयाँ सहकार्यको ढोका खोलेको बताएका छन्।
सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको राजकीय भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले भ्रमणलाई नेपालको राष्ट्रिय हित, आर्थिक वृद्धि र समृद्धिका दृष्टिले उपलब्धिमूलक रहेको बताए।
उनका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार विकास तथा सीमापार सम्पर्क विस्तारलगायतका विषयमा महत्वपूर्ण समझदारी भएका छन्।
समझदारीअनुसार भारतले नेपालको पारवहन व्यापारलाई सहज बनाउन गुजरातस्थित दीनदयाल (कान्डला) बन्दरगाह हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने भएको छ। आवश्यक पूर्वाधार निर्माण भएपछि ओडिसाको पारादीप बन्दरगाहसम्म पनि नेपाललाई पहुँच दिने सहमति भएको मन्त्री खनालले जानकारी दिए।
रेल पूर्वाधार विकासतर्फ अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवाको दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेका छन्। यस्तै, प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत मार्ग निर्धारणसम्बन्धी सर्वेक्षणलाई अन्तिम रूप दिने तथा नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा सहकार्य गर्ने विषयमा पनि सहमति जुटेको छ।
ऊर्जा क्षेत्रअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याउने तथा सप्तकोसी र सुनकोसी बहुउद्देश्यीय आयोजनाको अध्ययनलाई तीव्रता दिने सहमति भएको मन्त्री खनालले बताए।
सीमापार विद्युत् प्रसारण पूर्वाधार निर्माणमा पनि दुवै देशले सहकार्य अघि बढाउने भएका छन्। इनरुवा–नयाँ पूर्णिया र दोधारा–बरेली प्रसारण लाइन निर्माणका लागि संयुक्त उद्यम स्थापना गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।
त्यस्तै, भैरहवा, सुनौली र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई गति दिने तथा भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण सम्पन्न भएको नयाँ सीमापार पुल उद्घाटन गरिएको छ।
ऊर्जा तथा इन्धन आपूर्तिसम्बन्धी पूर्वाधारमा समेत प्रगति भएको छ। भ्रमणका क्रममा मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गरी नेपाली जनतालाई समर्पण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास गरिएको मन्त्री खनालले जानकारी दिए।
हवाई सम्पर्क विस्तारका लागि काठमाडौं–भैरहवा–लखनउ दुईतर्फी उडान सञ्चालन गर्ने विषयमा समेत भारत सहमत भएको उनले बताए।
नेपाल–भारत सम्बन्धमा नयाँ सहकार्यको अपेक्षा
परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुगेको दाबी गरेका छन्।
उनका अनुसार भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक, बहुआयामिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने सहकार्य विस्तार गर्नु थियो।
मन्त्री खनालले वर्तमान सरकारले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकता दिएको उल्लेख गर्दै भारतसँगको सहकार्यलाई परिणाममुखी बनाउने दिशामा भ्रमण केन्द्रित रहेको बताए।
उनले भने, ‘मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौँ पुरानो घनिष्ठ बहुआयामिक सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबुत बनाई दुवै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित रह्यो।’
भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र छलफलले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्याउनुका साथै विकास निर्माणका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्ने आधार तयार गरेको उनको भनाइ छ।
दुई दिने भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार साँझ स्वदेश फर्किएको हो।




प्रतिक्रिया