विद्युत् महसुलमा लाग्ने भ्याट सहज बनाउने सरकारको तयारी


कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताएका छन्।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताएका हुन्।

विद्युत् महसुलमा भ्याट लगाउँदा उपभोक्तामाथि आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए।

मन्त्री श्रेष्ठले भ्याट सहजीकरणसँगै उपभोक्तालाई अन्य सहुलियत प्रदान गर्ने तथा अतिरिक्त शुल्कका विषयमा समेत आवश्यक अध्ययन र छलफल भइरहेको बताए।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लगाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

यसैगरी, मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभावी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताए।

एउटै नदीमा धेरै जलविद्युत् आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उनको भनाइ थियो। कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था देखिएको उल्लेख गर्दै उनले नदीको प्राकृतिक बहाव कायम राख्नुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ योजना ल्याउनुभन्दा विगतका निर्णय र व्यवस्थालाई सुधार गर्नु बढी चुनौतीपूर्ण रहेको बताए। मन्त्रालयका कामहरू भने क्रमशः सही दिशामा अघि बढिरहेको उनको भनाइ थियो।