सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहविरुद्ध आफ्नै गृहजिल्ला सर्लाहीको मलंगवामा प्रदर्शन भएको छ। हिन्दु सम्राट सेनाका कार्यकर्ताले सिंहलाई कालो झण्डा देखाउँदै पुत्ला दहन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाही पुगेका सांसद सिंहलाई साँझ मलंगवामा हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै उनीहरूले विरोध जनाएका थिए।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सिंहको पुत्लासमेत जलाएका थिए।
हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार कालो झण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले आफ्ना चार जना कार्यकर्तालाई पक्राउ गरेको हो। पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सेनाका कार्यकर्ताले विरोध जनाएका छन्।
प्रदर्शनकारीहरूले कार्यकर्ता पक्राउ गरेर विरोध प्रदर्शन गर्ने अधिकारमाथि अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
यता, पदयात्राका क्रममा सर्लाही पुगेका सांसद सिंह शनिबार राति सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम रहेको छ। रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार सिंहको पदयात्रा आइतबार बिहान ७ः३० बजेदेखि पुनः सुरु हुनेछ।




प्रतिक्रिया