काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले १९ वर्षअघि बनेको वैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउन व्यापक संशोधन गर्न लागिएको बताएका छन्।
श्रम, रोजगारी तथा वैदेशिक रोजगार क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्दै प्रणालीलाई व्यवस्थित बनाउन सरकारले नीतिगत र कानुनी सुधार अघि बढाएको उनले बताए।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले लामो समयदेखि थुप्रिएका समस्या समाधान गर्न र विगतका कमजोरी सच्याउन सरकार सक्रिय रहेको जानकारी दिए।
‘श्रम, रोजगारी र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका बेथितिहरू हटाइरहेका छौँ। वर्षौंदेखि थुप्रिएका फोहोर सफा गरिरहेका छौँ। विगतका काम, कमी कमजोरी सच्याइरहेका छौँ,’ उनले भने।
उनले समय र आवश्यकताअनुसार नीति, ऐन तथा नियमावलीमा सुधार गरी राज्यको प्रणालीप्रति नागरिकको विश्वास बढाउने प्रयास भइरहेको बताए।
मन्त्री यादवले सरकारले राष्ट्रिय रोजगार ऐन निर्माणको प्रक्रिया पनि अघि बढाएको जानकारी दिए। उक्त ऐनमा सामाजिक उद्यमशीलताको विषयलाई समेत समेटिने उनको भनाइ छ।
‘नभएको राष्ट्रिय रोजगार ऐन निर्माण गरिरहेका छौँ। आज उठेको सामाजिक उद्यमशीलता आउने राष्ट्रिय रोजगारमा समेट्नेछु भनेर यहीँबाट घोषणा गर्दछु,’ उनले भने।
यसैगरी, संघीयता कार्यान्वयनमा आएपछि संशोधन हुन नसकेको राष्ट्रिय युवा ऐनलाई पनि समय र आवश्यकताअनुसार परिमार्जन गर्न लागिएको मन्त्री यादवले जानकारी दिए।
सरकारले वैदेशिक रोजगार ऐन, राष्ट्रिय रोजगार ऐन र राष्ट्रिय युवा ऐनमा सुधारमार्फत श्रम तथा रोजगार क्षेत्रलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्य राखेको उनको भनाइ छ।




प्रतिक्रिया