जनकपुरधाम, २८ वैशाख । जनकपुरमा आयोजित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सम्बोधनको क्रममा विभेदकारी संविधानविरुद्ध आफूहरुको संघर्ष जारी रहेको भनेर बोलेको अभिव्यक्तिको विरोध भएको छ ।
मुख्यमन्त्री राउतले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए । राउतको अभिव्यक्ति आपत्तिजनक रहेको जनकपुरवासीले नै प्रतिक्रिया दिएका छन् ।
राउतले भारतीय प्रधानमन्त्री मोदीको ध्यानाकार्षण गराउनेगरि ‘हाम्रो संघर्ष आज पनि विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि जारी छ’ भनेर बोलेका थिए । स्रोतका अनुसार स्वयम मुख्यमन्त्री आवद्ध रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवपनि उनीसँग रुष्ट बनेका छन् ।
उनले मोदीको ध्यान आकर्षित गर्दै भने ‘हामी नेपालको अभिन्न अंग हौं । तर हामीले चाहेका छौं कि हाम्रो मुलकमा पनि विना विभेद, विना भेदभाव कुनै पनि जाती, वर्ग, समुदायले राज्यका हरेक तह, तप्का र निकायमा उसको क्षमता र योग्यताले पुग्न सक्ने सहज अवसर मिलोस्, जसरी सामान्य परिवारको भएर पनि महामहिमज्यू भारतको सर्वोच्च पदमा विराजमान हुनुहन्छ ।’
राज्यको विभेदकारी नीतिका कारण मधेस अझै आर्थिक रुपमा पिछडिएको मुख्यमन्त्री राउतले बताएका थिए । उनले सम्बोधनको क्रममा थ पभनेका थिए,‘राज्य मधेसप्रति पूर्वाग्रही छ, विद्वेषपूर्ण मानसिकताका कारणका मधेसका वासिन्दा तुलनात्मक रुपमा अत्यधिक गरिब, वेरोजगारी, अभावग्रस्त, शोषित, उत्पीडित जीवन जिउन विवश छन्।’




प्रतिक्रिया