जेठ २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले बहुमतको सरकार भएकाले आर्थिक वर्ष २०७५–७६ को बजेट महत्वाकांक्षी भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले आवरणमा मात्रै कम्युनिष्ट सरकारले लोकप्रिय कार्यक्रम ल्याउन बाध्य भएकोसमेत बताए ।
लोकप्रियता र व्यवहारवादीको बीचबाट सन्तुलन मिलाइर बजेट ल्याइएको खड्काको तर्क छ ।
५ लाख रोजगारी सृजना गर्ने, शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने, दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने, दुई वर्षपछि एकै वर्षमा २० लाख पर्यटक भित्र्याउने, कृषि उत्पादन र प्रतिव्यक्ति आय दोब्बर बनाउने जस्ता कार्यक्रमले आशावादी देखाए पनि घाँटी हेरी हाड निल्नुपर्ने सिद्धान्त ख्याल नगरिएको खड्काको आरोप छ ।
८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नका लागि ९ खर्ब लगानी गर्नुपर्ने भएकाले निकै कठीन भएको उनको विश्लेषण छ । “तीन खर्ब सरकारले लगानी गर्नुपर्छ । बाँकी झण्डै ६ खर्ब निजी क्षेत्र र सहकारीले लगानी गर्नुपर्छ । यति रकम निजी क्षेत्रले लगानी गर्ने अवस्था छैन । अर्कोतिर आर्थिक वृद्धिदरको लक्ष्य कसरी प्राप्त गर्ने भन्ने आधार पनि छैन ।” खड्काले भने ।




प्रतिक्रिया