काठमाडौं, २१ जेठ । सारथी श्रृजनशील समाज नेपालले २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रवर्धन’ वर्षको रुपमा मनाउने जानकारी दिएको छ ।
सोमबार रिपोटर्स क्लब नेपालमा सारथी श्रृजनशील समाज नेपालले पत्रकार सम्मेलन गरेर २०७५ लाई ‘नेपाल–भारत धार्मिक साँस्कृतिक कृषि पर्यटन प्रर्वद्धन’ वर्षको रुपमा मनाउने जानकारी गराएको हो ।
केन्द्रीय व्यवस्थापक तथा प्रवक्ता भीमकान्त पन्थीले प्रर्वद्धन वर्ष–२०७५ ले नेपाललाई विश्व आध्यात्मिक केन्द्र बनाउने दाबी गरे । उनले भने,‘नेपाललाई विश्व गुरुत्वको मान्यता प्राप्त गराउनको लागि विश्व सभ्यताको उद्गमस्थल, संसारका समस्त सभ्यताहरुको पालक, श्रीपशुपतिनाथ लगायत स्वयंम्भू, बुद्ध हुँदै सिद्धार्थ गौतम बुद्धसम्मको जन्मभूमि, तन्त्र, मन्त्र, यन्त्र, वेद, उपनिषद, पुराण उद्गम भूमि नेपालको विश्वव्यापी प्रचार गर्न मद्दत गर्छ ।”

पन्थीले अघि थपे,‘सामाजिक तथा आर्थिक विकासको लागि कृषि तथा पशुपालनमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसको लागि एक नगर, एक गौशालाको योजनाअनुरुप नेपालका ७ वटा प्रदेशहरुमा विशाल गौशाालाहरुको निर्माण, कामधेनु गौवंश वृद्धि, अन्यान्य गौशालाहरुको निर्माण पशुवंश तथा वर्णशंकर बालीनाली निराकरण गरि पशुमा प्राकृतिक नश्ल सुधार र खेतिपातीमा प्राकृतिकता–प्राङ्गारिकता–जैविकताल्याई कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने हाम्रो लक्ष्य रहेको छ।’
स्वास्थ्य क्षेत्रमा परिवर्तनको निमित्त आफूहरुले आयुर्वेद अनुसन्धान, जडिबुटी प्रशोधन तथा पञ्चगव्य प्रशोधन केन्द्र खोली आयुर्वेदिक औषधी निमार्ण गर्ने लक्ष्य राखेकापनि उनले सुनाए । त्यस्तै उनले देशैभरि अत्याधुनिक गुरुकुल निर्माण गरि साँस्कृतिक शिक्षाको जर्गेना गर्ने पनि विश्वास दिलाए ।
कार्यक्रममा संस्थाको केन्द्रीय अध्यक्ष चक्रदेव जोशीले ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न लागिएका जानकारी गराए ।
उनले भने,‘काठमाडौं क्षेत्रमा सञ्चालित गौशाला क्षेत्र–चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापमा नेपाल राष्ट्रका सम्माननीय प्रधानमन्त्रीका करकलमद्धारा हुने भूमिपुजन तथा शिलान्याशसहित ७७ फिट अग्लो भगवान् शिव र श्रीकृष्णको चित्र अंकित विश्वकै अग्लो गौमाताको निर्माण गर्न जुटेका छौं ।’
अध्यक्ष्य जोशीले १० वर्षभित्रमा मौलिक धर्म संस्कृतिको पूर्ण सुदृढतासहित गौवंशको पूर्ण संरक्षण तथा कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा यथासम्भव आमुल परिवर्तन गरि कम्तिमा पनि २५ लाख यूवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने आफूहरुको योजना रहेको बताए ।
यसै अन्तर्राष्ट्रिय अभियान अन्र्तगत यही असार ११ गतेदेखि २१ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको पनौति नगरपालिका–३ पुछारीस्थित् श्री पशुपतिनाथ मन्दिर प्राङ्गणमा श्रीमद्भागवत गौरक्षा एवं नेपाल–भारत धार्मिक तथा कृषि पर्यटन प्रदेश नम्बर ३ स्तरीय काभ्रेपलाञ्चोक धार्मिक महोत्सव–२०७५ सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।
प्रदेशका मूख्यमन्त्रीद्धारा महायज्ञमा प्रसिद्ध पुराणवाचक वाचन सम्राट पं. भीमकान्त पन्थीको मूल प्रवाचकत्व रहने कुरा आयोजक समितीले जनाएको छ ।
साथै भारतको दिल्लीमा हुने कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, योगरिशी बालकृष्ण आचार्य र उत्तरप्रदेश उत्तराखण्ड विहार आदि राज्यका मूख्य मन्त्रीहरु पनि सम्मिलित हुने कुरा आयोजकले जानकारी दिएको छ ।




प्रतिक्रिया