काठमाडौं, २ असार । पूर्व राजदुत एवम् परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पारवाहन तथा यातायात सम्झौतालाई कार्यान्वयन गर्न यसपटक प्रोटोकलमा हस्ताक्षर हुने विश्वास दिलाए ।
प्रधानमन्त्रीको चीन भ्रमणको पूर्व सन्ध्यामा शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले चीनसँग १४ राष्ट्रहरुको सिमा जोडिएको बताउँदै भने,‘त्यसमा ८ वटा ल्याण्डलक्ड छन्, यीनीहरुसँगपनि चीनले बिआरआईमार्फत सिल्क रोडमा जोड्न चाहेको छ, रेशम मार्गमा जोडिनेबित्तिकै यी देशहरुको स्वर्ण युगमा प्रवेश हुन्छ।’
नेपालले भारतसँगमात्रै नभएर अब चीनसँगपनि पारवाहनको हक खोज्नुपर्ने श्रेष्ठको भनाई छ । उनले भने,‘ल्याण्डलकलाई अब ल्याण्डलिंक बनाउनुपर्छ।’ चीनको लगानीमा काभ्रेको पाँचखालमा र रसुवामा ईकोनोमिक जोन बन्न लागिरहेको बताउँदै उनले अब नेपालले उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए ।
चीनसँग अम्ब्रेला ईनर्जीमा सम्झौता हुने भएकोले ठूलो अनुदानमा विधुतीय प्राजेक्ट र सफ्ट लोनमा अन्य चार वटा ईनर्जीको क्षेत्रमा काम गर्नुपर्ने पनि उनले बताए । नेपालको श्रम र कच्चा पदार्थ अनि चीनको प्रविधि र लगानीबाट यहाँको विकास गर्न सकिने उनको भनाई छ।
यस पटकको प्रधानमन्त्रीको भ्रमणमा जलस्रोत र उर्जा क्षेत्रमा सम्झौता हुने संभावना रहेको पनि श्रेष्ठले सुनाए । त्यस्तै उनले नेपाल र चीनले उत्तरी क्षेत्रको विकासको लागि एकीकृत पहल थाल्नुपर्ने पनि बताए ।
चीन र भारत दुवैको रेल काठमाडौंमा आउने बताउँदै उनले भने,‘यी दुवै देश नेपालको लागि दायाँ र बायाँ खुट्टाजस्तै हो।’ प्रधानमन्त्रीको चीन भ्रमण सफल हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए । मुलुकको समृद्धिको लागि कुटनीति र पार्टनरसिपलाई नेपालले बढावा दिनुपर्ने पनि श्रेष्ठको भनाई छ । नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारीलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया