प्रदेश एकमा संचारमाध्यमसम्बन्धी विधेयक पारित, समाचारमा कडाई


असार ६, वीराटनगर । प्रदेश नम्बर एकको सभा बैठकले ‘प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबार संशोधन सहित पारित भएको छ ।

विधेयकको दफा ११ मा दफा ११ मा राष्ट्र र राष्ट्रिय हितलाई ध्यानमा राखी प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी एक पटकमा ६ महिना नबढाई कुनै खास विषय, घटना वा क्षेत्रसँग सम्बन्धित कुनै कार्यक्रम प्रसारण संस्थाबाट प्रसारण गर्न नपाउने गरी रोक लगाउन सक्ने छ भन्ने उल्लेख थियो ।

दफा ११ को उपदफा १ लाई नेपालको सार्वभौमसत्ता भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाई बीचको सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नौतिकताको प्रतिकुल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैङगिक विभेदलाई दुरुत्साहन गर्ने कार्यक्रम प्रसारण गरेमा त्यस्तो प्रसारण संस्थालाई प्रदेश सकारकारले पहिलोपटक सचेत गराउन सक्नेछ भनी संशोधन गरिएको छ ।

पारित विधेयकमा नियम विपरीत कुनै विषय प्रसारण भएमा १ लाखसम्म जरिवाना गर्न सक्ने उल्लेख छ ।

उपदफा १ बमोमिक सचेत गराउँदा समेत यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियम विपरीत कुनै कार्यको प्रसारण गरेरगराएमा त्यस्तो प्रसारण संस्था, प्रसारक वा सम्बन्धित अन्य व्यक्तिलाई तोकिएको अधिकारीले १० हजारदेखि १ लाखसम्म जरिवाना गर्न सक्नेछ । तर जरिवाना गर्नुअघि प्रदेश सरकारले त्यस्तो प्रसारण संस्थालाई आफ्नो सफाइ पेस गर्ने मुनासिव माफिकको मौका दिनुपर्नेछ भनी दफा ११ कै उपउफा २ मा थप गरिएको छ ।

यसैगरी दफा १२ को उपदफा १ मा रहेको कुनै प्रसारण संस्थाले यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियमको विपरीत कुनै कार्यक्रम प्रसारण गरेमा सम्बन्धित मन्त्रालयले त्यस्तो प्रसारण संस्थालाई पहिलोपटक सचेत गराउन सक्नेछ ।

उपदफा २ बमोजिम सचेत गराउँदा समेत यस ऐन वा यस ऐनअन्तर्गत बनेको नियम विपरीत कुनै कार्यक्रम प्रसारण गरेमा प्रदेश सरकारले त्यस्तो प्रसारण संस्थाले प्राप्त गरेको इजाजतपत्र रद्द गर्न सक्नेछ । उपदफा ३ बमोजिम इजाजतपत्र रद्द गर्नुअघि प्रदेश सरकारले त्यस्तो प्रसारण संस्थालाई

आफ्नो सफाइ पेस गर्न मुनासिब माफिकको मौका दिनुपर्नेछ भन्ने उल्लेख भएका तीन वटै उपदफाहरू हटाइएको छ ।

यसैगरी दफा १६ को उपदफा १ (क) मा राजनीतिक दलहरूलाई प्रतिकूल असर गर्ने गरी विज्ञापन प्रारण गर्न पाइने छैन भन्नेलाई संशोधन गरी गलत र भ्रमामक तथ्य राखेर राजनैतिक दल, व्यक्ति, संस्था, समुदाय लगायतलाई प्रतिकूल असर पर्ने विषयमा विज्ञापन प्रसारण गर्न पाइने छैन भन्ने थप गरिएको छ ।

संविधान र सर्वोच्च अदालतको फैसला विपरीत प्रदेश सकारले कानुन बनाउन खोजेको आरोप लागेको थियो । पारित विधेयकमा २३ वटा दफा छन् । प्रदेश सरकारलाई एक सयदेखि एक हजार वाटसम्मका एफएम रेडियो र केबुलबाट सञ्चालन हुने टेलिभिजन सञ्चालन गर्न इजाजत दिने अधिकार छ ।