चीन भ्रमण दलका सांसदहरुसँग प्रधानमन्त्रीको छलफल, राजदुत पौडेलमाथि प्रश्न उठ्यो


काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा सहभागी रहेका सांसदहरुसँग आज छलफल गरेका छन् । आजको बैठकले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको निश्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समिक्षामात्रै गरेन चीनका लागि नेपाली राजदुत लिलामणि पौडेलको कार्यशैलीप्रति पनि गम्भिर कुरा उठेको थियो । भ्रमण दलमा सामेल रहेका नेकपाकै सांसदहरुले राजदुत पौडेलको व्यवहार सह्य नरहेको आवाज प्रधानमन्त्रीसामू आज उठाएका थिए ।

स्रोतका अनुसार सांसद प्रेम आलेले त राजदुत पौडेललाई तत्काल फिर्ता बोलाउनुपर्ने समेतको कडा आवाज उठाएका थिए । राजदुत पौडेलले चिनियाँ निजी कम्पनीसँग नेपालका निजी कम्पनीहरुले गरेको सम्झौता कार्यक्रम होटलमा नगरेर आफू मनखुशी दुतावासमै आयोजना गरेपछि भ्रमण दलका सदस्यहरु उनीसँग रुष्ट बनेका थिए ।