असार १४, काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद कम हुँदै गएको छ । आगामी महाधिवेशनलाई लक्षित गरेर फरक फरक गुटका नेताहरुबीच पनि छलफल र सहकार्यको वातावरण बन्दै गएको हो ।
एक अर्काको आलोचना गर्दै आएका सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच पनि पछिल्लो समय एकताको वातावरण बनेको बताइएको छ ।
सभापति देउवाको कार्यशैलीको विरोध गर्दै आएका पौडेलले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न देउवालाई आग्रह गरेको बुझिएको छ ।
देउवाको बाँकी कार्यकालभरी आफूले सहयोग गर्ने र महाधिवेशनमा सहयोग लिने रणनीतिमा पौडेल लागेका हुन् ।
काग्रेस नेता रमेश लेखकले पनि पार्टीभित्र सकारात्मक पक्ष बढ्दै र नेताहरुबीचमा एकताको वातावरण बनेको बताएका छन् ।
हेटौडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलापछि पार्टीभित्र एकताको वातावरण बन्दै गएको दाबी गर्दै उनले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहकार्य हुने बताए ।
यद्यपी आगामी महाधिवेशनका लागि कुन नेताले कस्तो रणनीति लिएका छन् भन्ने कुरामा आफूलाई जानकारी नभएको उनले बताए ।
पौडेल र देउवाबीच सहकार्यको चर्चा चले पनि कांग्रेसमा आगामी महाधिवेशनलाई लक्षित गरेर कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र प्रकाशमान सिंहबीच पनि सहकार्यको प्रयास भइरहेको छ ।




प्रतिक्रिया