प्रदेश २ को बेटी बचाउ अभियान असफल, जनता आक्रोषित


मंसिर २, प्रदेश २ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ बेटी बचाउ अभियान चलाएका थिए । यो अभियानको चौतर्फी पं्रशंसा भएको थियो । तर अहिले आलोचना हुन थालेको छ । यो अभियानलाई व्यवहारमुखी नबनाई प्रचारमुखी बनाइएको आरोप लागेको छ ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ बेटी बचाउ अभियान चलाएता पनि पर्सा–बारामा अहिले पनि दलित बालिकालाई विद्यालयले छोएको छैन । विशेष गरेर पर्साको वीरगंज महानगरपालिकाको अलौ, पकहामैनपुरको खेश्राहा टोलका मुसहर समुदाय, विन्दवासिनी, छिपहरमाई, कालिकामाई र जगरनाथपुर गाउँपालिका, बहुदरामाई र पर्सागढी नगरपालिकाका दलित समुदायका बालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित भएका हुन् । प्रदेश नं. २ का जिल्लाहरुमा रहेका दलित समुदायले आर्थिक अवस्था कमजोर भएका कारण घरपरिवार चलाउन बालिकाहरुलाई मजदुरी र गोठालेको काममा लगाउँदा विद्यालय शिक्षाबाट बन्चित भएका छन् । बेटी पढाउ बेटी बचाउ अभियान प्रचार प्रसारमा मात्र सिमित रहेको स्थानीयको आरोप छ ।

सरकारले शिक्षाको अभियान चलाएपनि दलितहरुको आर्थिक अवस्था उकास्न कुनै कार्यक्रम नल्याएको स्थानीयको गुनासो छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभियानले शुरुमा राम्रो प्रोत्साहन पाएपनि अहिले प्रभावकारी बन्न सकेको छैन ।

शिक्षा मन्त्रालयको आँकडा अनुसार प्रदेश–२ मा विद्यालय जान वञ्चित बालबालिकाको संख्या केलाउँदा धनुषा र पर्सा क्रमशः पहिलो र दोस्रो नम्बरमा आउँछन् । धनुषामा २७ हजार २९७ र पर्सामा २७ हजार १०५ बालबालिका विद्यालय बाहिर छन् । त्यसपछि क्रमशः बारा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरी जिल्ला आउँछन् । त्यसमा पनि ८० प्रतिशत दलित बालबालिका विद्यालय बाहिर रहेका छन् ।