मन्त्री अधिकारीसहित ७ जनाको निधन हुनेगरि भएको हेलिकप्टर दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न भाजपा नेता जोलीको आग्रह

0
Shares

काठमाडौं, १८ चैत । भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एवम् नेपाल मामलाका जानकार विजय जोलीले संस्कृति, पर्यटन, नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन हुनेगरि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाबारे गठित छानबिन समितिले तत्काल प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो माग गरेका हुन् । उनले भने,‘एक महिनाभन्दा बढि समय बितिसक्यो, तर अहिलेसम्म छानबिन समितिले हेलिकप्टर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको छैन् ।’ आफूले गत मार्च २८ तारिखमा नयाँ दिल्लीस्थित् एयरवस (हेलिकप्टर डिभिजन) लाई मन्त्री अधिकारीसहित ७ जनाको निधन हुनेगरि भएको दुर्घटनाको स्थलगत अनुशन्धान गर्नुपर्ने माग गर्दै आकस्मिक ज्ञापनपत्र बुझाएको पनि स्मरण गराए ।  बहालवाला मन्त्रीको ज्यान जानेगरि दुर्घटना भएको महिनौं बित्दापनि अहिलेसम्म उक्त दुर्घटनाबारे कुनै प्रतिवेदन बाहिर नआउनु दुःखद् भएको जोलीको टिप्पणी छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘के/कति कारणले दुर्घटना भएको थियो ? यसमा केही प्राविधिक कारण थियो कि, मानवीय गल्ती थियो कि, ईन्जिनको खराबी थियो कि, मौसमको खराबी थियो कि ? यसबारेमा अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । म तत्काल प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दछु ।’ उक्त एयरवसले गैरजिम्मेवारीपन देखाएको पनि उनको आक्रोश छ । नेता जोलीले उक्त हेलिकप्टर एयरवसको ‘एटिट्युड र बेहेवियर’ नै अमानवीय लागेको गुनासो पोखे ।

आफूले आजमात्रै स्वर्गीय मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराई र उनका दश वर्षीय छोरा स्वराज अधिकारीलाई घरमै पुगी भेटेको सुनाउँदै जोलीले भने,‘मैले उहाँहरुलाई भेटेरै सान्तवना व्यक्त गरेको छु । स्वर्गीय रवीन्द्र अधिकारीसँग मेरो आत्मिय मित्रता थियो । उहाँ दिल्ली आउँदा हामीबीच भेटवार्ता हुन्थ्यो । नेपालको नागरिक उड्ययन र पर्यटनको क्षेत्रलाई कसरी विकास गर्ने, कसरी विश्वसामू अब्बल बनाउने भनेर सोच विचार गर्नुहुन्थ्यो । उहाँको निधनले म निकै दुःखी छु।’

स्वर्गीय मन्त्री अधिकारीका १० वर्षे छोराले आफूसँग भेटमा बुवा सवार हेलिकप्टर दुर्घट्नाको छानबिनको प्रतिवेदन बाहिर कहिले आउँछ भनेर आफूहरु प्रतिक्षामा रहेको बताएको पनि उनले सुनाए । उनले भने,‘उहाँको छोराले दुर्घटनाको बारेमा छानबिन समितिको प्रतिवेदन चाँडै आओस् र रिपोर्ट चाँडै आयो भने आगामी दिनमा दुर्घटना हुनबाट रोकिन्थ्यो भन्ने कुरा मसँगको भेटमा गर्नुभएको छ।’

हेलिकप्टर दुर्घटनाको बारेमा छानबिन गर्नुपर्छ भनेर नेपालका पब्लिक सेक्टर ईनोभेटर दिपेन्द्र कँडेलले गैर–राजनीतिक तहबाट गहन भूमिका निर्वाह गरिरहेको भन्दै जोलीले प्रशंसा गरे । उनले भने,‘कँडेलजीले आफ्नो जिम्मेवारी सुझबुझका साथ निर्वाह गरिरहनुभएको छ । पब्लिक डोमेनमा दबाब दिने काम उहाँले गरिरहनुभएको छ ।’

आजभन्दा ८ महिना पहिले पनि ए एस ३५० हेलिकप्टर दुर्घट्नाग्रस्त भैसकेको र त्यसको पनि अहिलेसम्म छानबिन समितिले प्रतिवेदन बाहिर ल्याउन नसकेको उनले सुनाए । उनले भने,‘नेपाली नागरिकहरुको ज्यानको उतिकै महत्वपूर्ण छ, जति युरोपियनहरुको छ । म एक भारतीय हुनुको नाताले हेलिकप्टरमा निधन भएकाहरुप्रति म शोक व्यक्त गर्छु । हेलिकप्टर दुर्घटनाको छानबिन चाँडै होस् । समितिको प्रतिवेदन चाँडै सार्वजनिक गरियोस् भन्ने मेरो आग्रह छ ।’

जोलीले हिजो राति हावाहुरीको कारण बारा र पर्सामा ठूलो मानवीय क्षति भएको भन्दै त्यसप्रति दुःख व्यक्त गरे । आफू रिपोर्टर्स क्लब नेपालको २१ औं वार्षिकोत्सव विशेष समारोहमा भाग लिनको लागि नेपाल आएको सुनाउँदै नेपाल र नेपालीहरुप्रति असिम प्यार रहेको जोलीको भनाई थियो । उनले भने,‘नेपाल आउने बित्तिकै आफूले नेपाली धर्तीलाई शिर निहुराएर ढोक्ने गरेको छु । यो पवित्र भूमि हो । मेरो पुर्खाहरु सायद पूर्व जन्ममा नेपालमै जन्मिएका थिए होला। ’