नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख विजय कुमार महरा विरुद्ध मुद्धा दायर


नवलपरासी, भदौ २३ । नेपाल विद्युत प्राधिकरणका उप–वितरण केन्द्रका पूर्व कार्यालय प्रमुख विरुद्ध मुद्धा दायर गरिएको छ । त्रिवेणी उप –वितरण केन्द्र, नवलपरासी (पूर्व) का कार्यालय प्रमुख विजय कुमार महरा र चौथो तहका कर्मचारी मेघराज काफ्ले विरुद्ध २३ भदौमा मुद्धा दायर गरिएको अख्तियार दुरुपयोग अनुुन्धान आयोगले जनाएको छ ।
उनीहरुले थ्रीफेज लाइन जडान गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सेवाग्राहीबाट छयालीस हजार पाँच सय पचपन्न घुस बापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा नायब सुब्बा विजय कुमार महरा र फोरम्यान मेघराज काफ्लेले सेवाग्राहीसँग थ्रीफेज लाईन जडान गरीदिने कार्यको लागि पहिलो पटक नब्बे हजार र दोस्रो पटक छयालीस हजार पाँचसय पचपन्न गरी एक लाख छत्तीस हजार पाँच सय पचपन्न घुस लिएको प्रमाणका आधारमा उनीहरुलाई विगो एक लाख छत्तीस हजार पाँच सय पचपन्न कायम गरी भ्रष्टाचार बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

साथै उजुरी निबेदक राजु आचार्यले थ्रीफेज विद्युतीय लाईन जडान गर्ने कार्यको लागि विजयकुमार महरा समेतलाई वारदात हुनुपूर्व नै नब्बे हजार उपलब्ध गराएकोले उनको उक्त कार्य भ्रष्टाचारको कसुर भएकोले भ्रष्टाचार बमोजिम सजाय हुनु पर्नेमा, राजु आचार्यले घुस सम्बन्धी कसुरको उजुरी निबेदन दिई अनुसन्धानमा सहयोग गरेको हुँदा उनलाई सजाय मागदावीमा पूर्ण छुट दिई आयोगको साक्षीको रूपमा प्रस्तुत गरिएको अख्तियारले जनाएको छ ।