अविरल बर्षाले पाँच सय घरपरिवार प्रभावित


पोखरा, ३१ भदौ । गए रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका पाँचसयभन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

बेलुका १० बजेदेखि बिहान तीन बजेसम्म लगातार परेको मुसलधारे पानीका कारण ठाडो खोलामा पानीको मात्रा बढेर खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्फ जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी जानकारी दिए। बाढीले नयाँबस्ती, डुढेको फाँट, घाटीछिना, ठूलाखेत, बाम्दी, चनौटेसहित पोखरा २४ को कार्कीको तहरा लगायत स्थानमा क्षति पुर्‍याएको छ भने एक सय घर उच्च जोखिममा रहेको स्थानीले बताएका छन् ।

सो खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दा रातभर जाँगा बसेका र खोलाको कटानले फाँटमा लगाएको सयौँ रोपनी जग्गाको धानबालीसमेत बगाएको छ।

पोखरा २३ का वडाध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाका अनुसार बाढीले भौतिक संरचनामा ठूलै क्षति पुर्‍याए पनि मानवीय क्षति भने भएको छैन। खोला बढेसँगै बस्ती कटान नियन्त्रणका लागि भरिएका तारजाली बगाएको र पानी पर्ने क्रम निरन्तर भएमा ठूलै क्षति हुने खतरा देखिएको छ ।

हर्पन खोलाका साथै ठाउँठाउँबाट आएका खहरे खोलाले पामे पोखरा सडक मार्ग अवरुद्ध भएपछि जेसिभी लगाएर बाटो खुलाउने प्रयास भईरहेको छ । बाढीले समाज सुधार कृषि फार्ममा १ सय २५ वटा कुखुरा मर्नाका साथै पामे बजारका तीन घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।

सोही स्थानमा रहेका पोखरा २४ का पूर्णप्रसाद तिमिल्सिना, दुर्गा तिमिल्सिना र सन्तोष हमालको घर डुबानमा परेको छ । उनीहरुको घरभित्र पुरै पानी पसेको छ। अविरल बर्षाका कारण स्थानीयबासी त्रसित भएका छन्।

Skip This

Omoda E5 Pro