पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी


काठमाडौं, ९ पुस । चीन सरकारको आग्रहमा पक्राउ परेका चिनियाँ नागरिकलाई नेपाल ल्याएर काम लगाउने मुख्य व्यक्ति फरार भएका छन्। प्रहरीले छापा मार्दा पक्राउ परेका करिब सय व्यक्तिको साथमा पासपोर्ट नभेटिएपछि मुख्य व्यक्ति फरार भएको खुलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहारअन्तर्गतअनुसन्धानका लागि म्याद लिन जाँदा पासपोर्ट खोजी गर्दा भेटिएको थिएन।

उनीहरूले पासपोर्ट आफ्नो ‘बोस’ लाई राख्न दिएको बताएपछि प्रहरी मुख्य व्यक्तिको खोजीमा लागेको छ। सोमबार प्रहरीले छापा मार्दा मुख्य व्यक्ति भने फरार भएका हुन्। प्रहरीले मंगलबार उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ। चिनियाँ अधिकारीहरूले नेपालमा एक हजार ६ सयभन्दा बढी चिनियाँ नागरिक शंकाको घेरामा रहेका र तिनलाई पक्राउ गर्न आग्रह गरेका थिए। प्रहरीले पहिलो चरणमा एक सय २२ जना पक्राउ गरेका हुन्। प्रहरी स्रोतका अनुसार काठमाडौंपछि चितवन र पोखरामा पनि सर्च अभियान चलाउने तयारी छ। ‘अहिले मुख्य व्यक्तिको खोजीमा छौं, काठमाडौं बाहिरका सहरमा पनि चिनियाँ नागरिकको गतिविधिका बारेमा प्रहरीले निगरानी सुरु गरिसकेका छ,’ स्रोतले भन्यो। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी प्रमुख डिआइजी निरजकुमार शाहीले प्रहरी परिसरले थप अनुसन्धान गर्ने बताए। ‘संयुक्त अप्रेसन हो, अबको अनुसन्धान परिसरबाटै हुन्छ,’ डिआइजी शाहीले भने।

गृहमन्त्रालय स्रोतका अनुसार तत्काल अभद्र व्यवहारमा उनीहरूलाई म्याद लिनुको कारण पनि पासपोर्ट नभएका वा गैरकानुनी रूपमा नेपाल बसेकालाई देश निकाला गर्नु नै हो। प्रहरीले अनुसन्धान गरिरहेको विषय भएकाले डिपोर्ट वा अन्य कारबाही के हुन्छ भन्ने बारेमा अध्यागमन विभाग प्रमुख सहसचिव ईश्वर पौडेलले भने केही बताउन चाहेनन्। ‘प्रहरीले अनुसन्धान गर्दैछ अनुसन्धानपछि अध्यागमन कार्यालयलाई बुझायो भने कानुनअनुसार कारबाही हुन्छ,’ पौडेलले भने। डिआइजी शाहीका अनुसार नेपालको कानुन आकर्षित हुने र नेपालमा अपराध गरेको देखियो भने नेपालमै कारबाही हुन्छ। पक्राउ गरिएकाहरू चीनको कुन प्रान्तका नागरिक हुन्, उनीहरू कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुल्न सकेको छैन। ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेपछि मंगलबार मन्त्रालयमा उच्चअधिकारीहरूको बैठक बसेको थियो। सो बैठकमा नेपालको कानुन आकर्षित हुनेलाई नेपालमै कारबाही गर्नुपर्ने कुरा उठे पनि त्यो कुरा प्रहरीले संकलन गर्ने प्रमाणमा भरपर्ने भएकाले सबैभन्दा उत्तम विकल्प डिपोर्ट नै भएको निस्कर्ष निकालिएको छ। ‘उनीहरू नेपालमा किन आए, के काम गरिरहेका छन्, कहिलेसम्म बस्ने हुन् र उनीहरू चीनको कुन प्रान्तका नागरिक हुन् त्यो विषयमा प्रहरीले कागजात हेर्न थालेको छ तर धेरैको पासपोर्ट नभएका कारण कहिले नेपाल प्रवेश गरेका हुन् र कहाँबाट नेपाल आएका हुन् भन्ने बारेमा केही खुलाउन सकिएको छैन,’ मन्त्रालय स्रोतले भन्यो।

नागरिक दैनिकबाट