यो सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी कागजमा मात्रै फर्काउँछ त्योभन्दा बढि केही पनि गर्न सक्दैन् : डा. रिजाल (भिडिओसहित)


काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद डा. मिनेन्द्र रिजालले वर्तमान सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी कागजमा मात्रै फर्काउने र त्यो भन्दा बढि केही पनि गर्न नसक्ने दाबी गरेका छन् । रिजालले सीमा अतिक्रमणको विषयमा समस्या हल गर्न आफूहरुले सरकारलाई पूर्ण साथ र सहयोग गरेको सुनाए । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका सांसद रिजालले भने-“प्रधानमन्त्रीले यसअघि र हालै बोलाउनुभएको सर्वदलीय बैठकमा हामीले प्रष्टसँग भनेका छौं, जे सहयोग चाहिन्छ हामी सहयोग गर्न तयार छौं ।”

उनले भने-“सीमा अतिक्रमणको विषयमा सरकारलाई हाम्रो पूर्ण सहयोग हुन्छ । नक्शा जारी गर्ने कुरामा आज होईन, आजभन्दा केही महिना अगाडि नै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा भन्यौं जे सहयोग चाहिन्छ, जहाँ हामीले समर्थन गर्नुपर्छ, हामी सहयोग गर्छौं, समर्थन गर्छौं । हाम्रो सहयोग जहाँ लिनुहुन्छ, हामी तयार छौं भनेका छौं । अहिले पनि हामी भनिरहेको छौं । चिन्ता मेरो कहाँ छ भने, सरकार जुन तरिकाले प्रस्तुत भएको छ, जुन तरिकाले कुरा गरिरहेको छ, र अघि भर्खरैपनि सुन्दैथिएँ भारतीय सेनाध्यक्षले बोलेको कुरा सुन्दैथिएँ । खाली कागजको नक्शामा मात्रै लिम्पियाधुरा, लिपुलेक र कालापानी यो सरकारले फर्काउने भयो । त्यो भन्दा बढि गर्न सक्ने भएन् । मेरो चिन्ता त्यो हो । आज सरकारले सबैको सहयोग जुटाएर एक ठाउँमा नेपाल, एउटा प्रतिबद्धता, एउटा अठोटका साथ उभिनुपर्ने ठाउँमा यो सरकारले कागजमा मात्रै फर्काउँछ त्यो भन्दा बढि केही पनि गर्न सक्दैन् । कागजमा लिम्पियाधुरा हाम्रो हुन्छ । कागजमा लिपुलेक हाम्रो हुन्छ । कागजमा कालापानी हाम्रो हुन्छ । अहिले पनि तपाईमार्फत सबैलाई भन्न चाहन्छु हामी सरकारलाई सहयोग गर्न चाहन्छौं ।”

सीमा अतिक्रमण भएको विषयमा फिर्ता गराउनको लागि सरकारलाई जेसुकै सहयोग गर्नपनि आफूहरु तयार रहेको उनको प्रतिबद्धता छ । सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा देशको प्राथमिकता नै नभएको भन्दै आफूहरुले संशोधन हाल्ने स्पष्ट पारेका छन् । उनले नीति तथा कार्यक्रम सकारात्मक नभएको टिप्पणी गरे । सरकारले अहिले यो यो गर्छु भनेर प्राथमिकताका साथ कार्यक्रम ल्याउनुपर्नेमा सबै कुरा गर्छु भनेर कार्यक्रम ल्याएको उनको गुनासो छ । उनले भने, यो नीति तथा कार्यक्रममा प्राथमिकता छैन् । यो दस्तावेजले कहीँ पुर्याउँदैन् ।

कोरोना नआएको भएपनि यो सरकारले केही पनि गर्न नसक्ने रैछ भन्ने कुरा पुष्टि भएको पनि उनको भनाई छ । कोरोनाको कहरको बीचमा अढाई घण्टा लामो समयसम्म हावा पनि नछिर्ने हलमा सांसदहरु भेला हुनु गम्भिर विषय भएको उनको आशय थियो । उनले भने,”यो त संवेदनहिनताको पराकाष्ठा हो । हेर्नुहोस डेनमार्कको संसदमा दश जनाभन्दा बढि सांसद हलमा जान मिल्दैन् । सरकारले यो गर्छु वा उ गर्छु भनेर भनेको कुरा नौलो नभएको उनको भनाई छ । उनले भने, गफ हाँकेर विकास हुँदैन् । काम गर्नुपर्छ । यो सरकारले काम गर्न सक्दैन् ।”