भक्तपुरमा मास्क प्रयोग नगर्ने ४८ जनालाई प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना


भक्तपुर, २५ असार । भक्तपुर जिल्लामा मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवाना गरि छाडिएको छ ।जिल्लामा आज मास्क प्रयोग नगर्ने ४८ जनालाई नियन्त्रणमा लिएर जरिवाना गरि छाडिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनुभयो ।

कोरोना संक्रमणबाट बच्नको लागि मास्क प्रयोग गर्न अनुरोध गरिएको भए पनि अटेर गरि मास्क प्रयोग नगरी जिल्लाका चाँगुनारायण,जगाती,बालकोट,ठिमी लगायतका सडक,बजारमा हिँडडुल गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरिएको हो ।पक्राउ परेका सबैलाई संक्रमक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत प्रति व्यक्ति रु एक सय जरिवाना गरिएको हो ।

प्रहरीले जिल्लामा कोरोनासंक्रमण फैलिरहेका बेला मास्क प्रयोग नगर्नेहरुमाथि निगरानी गर्न शुरु गरेको हो ।बिनामास्क हिँडिरहेका व्यक्तिलाई मास्क लगाउन प्रहरीले आग्रह गरिरहेको छ भने मास्क नभएका व्यक्तिलाई तत्कालाई पसलबाट किन्न लगाएको खबर आजको समाचारपत्रले छापेको छ ।