२२ दिनदेखि झा दम्पती अज्ञात


महोत्तरी, चैत ३ । जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी फागुन १० गतेदेखि बेपता छन्। प्रहरीले न उनीहरूलाई जिउँदै छ भन्न सकिरहेको छ न मृत नै। उनीहरूको खोजीमा ५० भन्दा बढी पोखरीमा खोजतलास गरिए पनि प्रहरीको हातमा कुनै सुराक फेला परेको छैन।

प्रहरी र पीडित परिवारले खोजी गरेको २२ दिन भइसक्दा पनि उनीहरूको अवस्था अज्ञात छ। प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसार झा दम्पतीलाई खोज्न शंका गरिएका ५० वटाभन्दा बढी पोखरीमा तलास गरिसक्यौं।

सीमापारिका सुरक्षा अधिकारीसँगको समन्वयमा पनि खोजी जारी छ। प्राविधिक टोलीबाट समेत अनुन्धान जारी छ। ‘घटना भएको २२ दिन भइसक्दा पनि बेपत्ता झा दम्पतीको अवस्था यकिन हुन सकेको छैन,’ डिआइजी सिंहले नागरिकसँग भने, ‘व्यक्तिगत, पारिवारिक र आर्थिक पाटोबाट घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ। चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। नियन्त्रणमा रहेका शंकित व्यक्तिको बयान र तथ्य केलाउँदा घटनाको कारण यकिन भइसकेको छ। दम्पतीको अवस्था पत्तो लाग्नेबित्तिकै सब कुरा प्रस्ट हुन्छ।’

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका चार जनामध्ये मुसाफिरसँग जग्गा विवाद रहेका रामजी यादवले झुटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ। ‘पोलिग्राफबाट रामजीले झुटो बोलेको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्।’

प्रहरी नियन्त्रणमा रहेका चारजनासँग बयान लिँदै बयानको प्राविधिक परीक्षणबाट तथ्य यकिन गर्ने काम भइरहेको छ। गीतादेवी सुतेको खाट र भुइँमा रगतका छिटा र पक्राउ परेका एक व्यक्तिको घरमा भेटिएको रगतको छिटाको समेत प्राविधिक परीक्षण गराउने काम प्रहरीले गरेको छ। नागरिक दैनिकबाट