टोपबहादुर रायमाझी भन्छन् : ‘१०औं महाधिवेशनबाट केपी ओली नै सर्वसम्मत् अध्यक्ष बन्नुहुन्छ’


प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूहरुको १०औं महाधिवेशनमार्फत सर्वसम्मत रुपमा केपी शर्मा ओली अध्यक्षमा चयन हुने विश्वास दिलाए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौं, विधान पनि सर्वसम्मतीले पारित गर्यौं । अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौं । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ । त्यो महाधिवेशनमा आउने प्रतिनिधिहरुको निर्वाचन मूलतः आज सम्पन्न हुन्छ । एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौं । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौं । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पछिल्लो समय भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरे । तर, आफूहरुको लागि यो नौलो कुरा नभएको उनको प्रतिक्रिया छ । उनले भने,‘यो नौलो कुरा होईन् । यो सरकार देशको विकास र समृद्धि गर्न आएको नै होईन । यो त जनतामाथि महँगी थुपार्न, अन्याय र अत्याचार गर्न आएको हो । यो कुरा दुनियाँलाई थाहा छ नि, अहिले विकास र समृद्धिको विषयमा कुनै चर्चा छ त ? यदि चर्चा छ भने त्यो कि महँगीको विषयमा चर्चा छ, कि जनतामाथि सरकारले अत्याचार गरेको विषयमा चर्चा छ । सरकार त न्यायालय ध्वस्त पार्नतिर उद्धत छ । संसद्लाई बाईपास गरियो । न्यायालयलाई ध्वस्त पार्न सरकार नै लागिरहेको छ । जनताको अधिकार ध्वस्त पार्न सरकार मतियारको रुपमा काम गरिरहेको छ । यो कुरा सबै घट्नाक्रमले पुष्टि गरेको छ । जति दिन बित्दै जान्छ, त्यति नै राष्ट्र र जनताले दुःख पाउने हो । अब त व्यवस्था, संविधान र प्रणाली रक्षाको जरुरी भैसक्यो ।’