काठमाडौं, २० मंसिर । नेपाली काँग्रेस इतिहासमै कमजोर अवस्थामा छ । अब पनि नेतृत्व परिवर्तन भएन भने झन् बर्बाद हुन्छ । त्यसैले हामी सहमति निकालौं । वरिष्ठ नेता रामचन्द्र पौडेलले बोहराटारस्थित निवासमा डाकेको ४ नेताको बैठकमा कुरा निकाले । पौडेलले कि आफूलाई छाड्न कि तीन नेतालाई सहमति गर्न भने ।
तपाईंहरु कि सहमति निकाल्नुस् कि मलाई साथ दिनुहोस्, पौडेलले भने । महामन्त्री डा. सशांक कोइरालाले तथ्यांक प्रस्तुत गर्न थाले । देउवालाई बहुमतका लागि ४ देखि ५ सय मत अपुग भएको र आफूहरुभित्र खेलेमा सफल हुनेतर्फ सचेत गराए । उनले सुरुमा सबै एकढिक्का हुनुपर्ने र अविश्वासको वातावरण बन्न दिन नहुने विषय राखे । देउवासँग १८ सय जति मत रहेको तथ्यांक पनि राखे । ४ जना मिलेमा देउवालाई पराजित गर्न सक्ने तथ्यांक पनि प्रस्तुत गरे ।
आफूहरु नमिल्दा समर्थकहरु अलमलमा रहेको विषय पनि उठ्यो । त्यसपछि २ दिनभित्रै साझा उम्मेदवार तय गर्ने विषय बन्यो ।
पूर्वमहामन्त्री प्रकाशमान सिहले जहिले पनि आफूले मात्र त्याग गर्नुपर्ने भन्दै असन्तुष्टि पोखे । १३औं महाधिवेशनमा आफूले सशांक कोइरालालाई महामन्त्री छाडेको र रामचन्द्र पौडेललाई सभापतिमा दिलोज्यानले साथ दिएको स्मरण गराए । उनले भने, हिजो तपाईंहरुका लागि त्याग गरें अब मलाई साथ दिनुहोस् । म सभापतिबाहेकको जुनसुकै पदमा त्याग गर्न तयार छु । सिंहले आफूसँग देउवालाई चुनाव हराउन सक्ने सामथ्र्य रहेको दाबी गरे ।
पौडेलले आफू सभापतिको चुनाव लड्ने र जितेर चुनाव सकिएपछि तीनमध्ये एक नेतालाई पार्टीको जिम्मेवारी दिने विषय राखे । बरु कुन पदमा को बस्ने, भविष्यमा कुन पदमा कसरी बाँडफाँड गर्नेबारे टुंगो लगाउन प्रस्ताव गरे ।
शेखर कोइरालाले आफू चुनाव जित्नसक्ने आधार प्रस्तुत गरे । प्रदेश १ मा आफैले मतदान नगर्दा गुरुराज घिमिरे पराजित भएको र सबै मिल्दा पनि आधार जोगाएको विषय राखे । उनले विगत साँढे ५ वर्ष आफूले जिल्ला जिल्ला गएर खूबै मिहेनत गरेको सुनाए ।
नेताहरुले गर्मागर्मी छलफल गरे । तर, कोहीपनि त्याग गर्न तयार भएनन् । कोहीपनि डगमग नहुने निष्कर्षसहित २ दिनभित्र साझा उम्मेदवार तय गर्ने निष्कर्षसहित बैठक टुंगिएको थियो ।




प्रतिक्रिया