प्रधानमन्त्री कपः सुदुरपश्चिमको पहिलो जित, कर्णाली ४७ रनले पराजित


काठमाडौं, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो ।

सुदुरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली १९ दशमलब १ ओभरमा अलआउट हुदै मात्र १ सय ६ रन मात्र जोड्न सक्यो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३५ रनको बनाए भने अर्जुन घर्तीले ३० रन जोडे ।

सुदुरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट हात लिन सफल भए ।

यस्तै। हेमन्त धामीले दुई, आदित्य महता, गजेन्द्र बोहरा र विकास अग्रीले समान एक–एक विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५३ रन जोडेको थियो ।

सुदुरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रनको जोड्न सफल भए ।

साथै, वसन्त कार्कीले २८, दिपक बोहराले २५ तथा खडक बोहराले २२ रनको योगदान गरे ।

कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३ विकेट हात पारे ।

रविन्द्र शाही र दिवान पुनले दुई–दुई तथा दिनेश अधिकारीले एक विकेट लिए ।