काठमाडौं, माघ ९ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको आज सुनुवाई नहुने भएको छ ।
पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा आज जिल्ला अदालतमा पेशी तोकिएको थियो। अन्तिम सुनुवाइका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो।
जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएपछि आज सुनुवाई नहुने भएको छ । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन्।
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् ।




प्रतिक्रिया