लेखापरीक्षण गर्नेहरूको वित्तीय अनुशासन छानबिन गर्नुपर्छः राजेन्द्र लिङ्देन


काठमाडौं,९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए नभएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको औँल्याएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

“वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो ? त्यसमा पनि बेरुजुको आधा हिस्साभन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालययअन्तर्गत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा, देशको ऐन, कानुन वा नेतृत्वको कारण छ । यस्ता कुराहरू आउनुपर्छ । बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो, जवाफदेही को हुनुपर्छ,” पूर्व उपप्रधान तथा उर्जामन्त्री समेत रहेका उनले भने, “महालेखापरीक्षकले देखाइदिएर मात्रै पुग्ने तर बेरुजुको जिम्मेवारहरू माथिल्लो निकायमा जानेर अर्कोले पनि बेरुजु थप्दै थप्दै जाने हो । हामीले अंक मात्रै देखाइदिने हो ? जवाफदेही बनाउन के कुराले रोक्यो ? एक वर्षको बेरुजु अर्को वर्ष फर्छ्योट नभए को जिम्मेवारी हुने र के कुराबाट वञ्चित हुने हो भन्ने कुरा राम्रो हुन्छ । लेखापरीक्षण वित्तीय अनुशासन कायम गर्नको लागि गरिन्छ भन्छौँ, लेखापरीक्षण गर्नेहरू नै कतिको वित्तीय अनुशासनमा छन् ? लेखापरीक्षण गर्न जानेहरू रकम लिएर काम गर्ने कुराहरू आएका छन्, यो विषयमा पनि ध्यान पुग्न सक्नुपर्छ ।”

उनले महालेखापरीक्षकहरूले अंकमा बेरुजु देखाउने मात्र नभएर जवाफदेही बनाउनुपर्नेमा जोड दिए । हरेक वर्ष उच्च रूपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले खुट्ट्याउन आवश्यक रहेको उनले बताए ।

Skip This

Omoda E5 Pro