राजस्व छल्नेमाथि उच्च निगरानी


काठमाडौं, बैशाख २० । सरकारले राजस्व छल्नेविरुद्ध उच्च निगरानी बढाएको छ । पछिल्लो समय अनुसन्धान तथा उच्च निगरानी बढाएको विभागले हरेक साता करोडौं रुपैयाँ राजस्व छलीको घटना बाहिर ल्याएर विभिन्न अदालतमा मुद्दा दायर गरिरहेको छ ।

यसअघि गत ४ वैशाखमा मात्र भन्सार छलेर राजस्व चुहावट गर्ने विभिन्न फर्मका सञ्चालकहरु विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको विभागले सोमबार पुनःनक्कली भ्याट बिल बनाएर राजस्व छल्ने दुईवटा फर्मका सञ्चालकविरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा उनीहरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

यी दुवै जना सेयरधनी भएको एभरेस्ट यति इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा भ्याट बिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको विभागको आरोप छ ।

विभागका अनुसार राजस्व छलीमा संलग्न दीपकुमार देउजा र अचला थापा देउजाले मूल्य अभिवृद्धि करतर्फ ३ करोड ४० लाख १८ हजार रुपैयाँ र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६० रुपैयाँ गरी कुल ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपैयाँ राजस्व छलेका थिए । यसरी छली भएको राजस्व रकममा शतप्रतिशत जरिमाना र कैद सजाय मागदाबीसहित उनीहरूविरुद्ध कुल १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँको मुद्दा दायर गरिएको विभागले जनाएको छ । राजधानी दैनिकबाट

Skip This

Omoda E5 Pro