एमालेलाई कृष्ण सिटौलाको प्रश्न : ..अहिले राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ ?


काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र छाडेर राजतन्त्रका पक्षधरलाई भोट हाल्न नमिल्ने बताएका छन् । उनले जनता, गणतन्त्र, समावेसी र समानुपातिक प्रणाली विरोधीलाई भोट हाल्नु भनेको जनता विरोधी कार्य भएकाले त्यस्ता व्यक्तिलाई मत दिन नमिल्ने स्पष्ट पारेका हुन् । नेता सिटौलाले गणतन्त्रका पक्षधरलाई मात्रै भोट हाल कार्यकर्तालाई निर्देशन दिए ।

आज (शनिबार) झापाको बाह्रदशी–५ मा नेपाली कांग्रेस बाह्रदशीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले नेकपा (एमाले) माक्र्सवाद–लेनिनवाद भन्दै हिँड्ने, कांग्रेससँग मिलेर सङ्घर्ष गर्ने, मुलुकमा गणतन्त्र ल्याउने अनि अहिलेचाहिँ राजावादीलाई भोट हाल्नु भन्दै हिँड्न मिल्छ भन्दै प्रश्न गरे ।

अघिल्लो निर्वाचनको स्मरण गर्दै नेता सिटौलाले भने,“यस क्षेत्रमा जिताएर पठाएका सांसदले यो क्षेत्रमा कस्ता–कस्ता विकास गरे, तपाईँले के पाउनुभयो, त्यसकारण यसपटकको मत खेर नफाल्न तपाईँ सबैलाई आग्रह गर्न चाहन्छु, अब तपाईँ आफैँ उम्मेदवार भएर मत माग्न जनताका घर–घर गइदिनुहोस् ।”

नेता सिटौलाले उक्त क्षेत्रको विकासका लागि आफू लागिपर्ने र लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धिलाई रक्षा गर्दै सबै नागरिकलाई समृद्ध बनाउने बाटोमा डो¥याउन आफू लागिपर्ने बताए । नेपाली कांग्रेसभित्र इमान्दारिता रहेको र यो पार्टी इमान्दारिताले नै चलेको उनले उल्लेख गर्दै कांग्रेसले कुनै दिन पनि जनतालाई नझुक्याएको बताए। यसपटकको निर्वाचन व्यवस्थाको रक्षाका लागि भएको र इमान्दारिताका साथ गठबन्धनका उम्मेदवारलाई मतदान गरेर विजयी गराइदिन नेता सिटौलाले आग्रह गरे ।