काठमाडौं । वीरगञ्जको मुख्य सडक किनारका घरधनी तथा व्यापारीहरूले आफूहरूमाथि अन्याय भएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
‘वीरगञ्ज मुख्य सडकवासी पीडित समिति’को नेतृत्वमा आइतबार भएको प्रदर्शनमा सहभागीहरूले सर्वोच्च अदालत र सरकारसँग उचित न्याय तथा क्षतिपूर्तिको माग गरेका हुन्।
प्रदर्शनकारीहरूले त्रिभुवन राजमार्गको काठमाडौं–हेटौँडा र वीरगञ्ज खण्डमा सर्वोच्च अदालतले फरक–फरक फैसला गरेको भन्दै आपत्ति जनाएका छन्। एउटै राजमार्गमा फरक मापदण्ड लागू गर्नु विभेदपूर्ण भएको उनीहरूको आरोप छ।
आफूहरूसँग वैधानिक लालपुर्जा रहेको र वर्षौंदेखि नियमित कर तिर्दै आएको बताउँदै घरधनीहरूले उचित मुआब्जाबिना घरजग्गा हटाउन खोजिएको भन्दै विरोध गरेका छन्।
उनीहरूले सम्पत्ति र आवासको मौलिक हक संरक्षण गर्न, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा वीरगञ्जवासीमाथिको विभेदकारी व्यवहार अन्त्य गर्न माग गरेका छन्।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै प्रदर्शनकारीहरूले ‘न्याय देऊ, न्याय देऊ’ लगायतका नारा लगाएका थिए।




प्रतिक्रिया