काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ‘ख’ को सभापतिमा निर्वाचित सन्तमान तामाङले पदभार ग्रहण गरेका छन् ।
गत असोज १२ गते भकुण्डेमा सम्पन्न महाधिवेशनबाट सभापतिमा निर्वाचित तामाङले आज पनौतीस्थित प्रदेशसभा ‘ख’ क्षेत्रीय कार्यसमितिको कार्यालयमा पदभार ग्रहणसँगै बरबुझारथ कार्यक्रम सम्पन्न गरेका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट जिल्ला कार्यसमितिको प्रवक्ताको जिम्मेवारी सम्हालेका तामाङले १५औँ महाधिवेशनबाट प्रदेशसभा ‘ख’ को सभापतिको जिम्मेवारी पाएका हुन् ।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै सभापति तामाङले प्रदेशसभा ‘ख’ का आम कार्यकर्ता र जनताको शिर झुक्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा पार्टी संगठनलाई थप बलियो र एकताबद्ध बनाउँदै जनतामा पछिल्लो समय देखिएको राजनीतिक अविश्वासलाई चिर्न कांग्रेसलाई विश्वासिलो, भरोसायोग्य र जनमुखी शक्तिका रूपमा स्थापित गर्न आफूले काम गर्ने बताए ।
उनले क्षेत्रभित्रका ३३ वटै वडा कार्यसमितिलाई संगठन निर्माणमा सक्रिय रहन आग्रह गर्दै कुनै पनि समस्या आइपरे आफू र आफ्नो कार्यसमिति सहयोगका लागि तयार रहेको बताए ।
त्यस्तै, वडा सभापति तथा नगर र पालिका सभापतिहरूलाई सधैँ संगठनको काममा सक्रिय रहन आग्रह गर्दै तामाङले सबैको सहकार्य र एकताबाट मात्रै पार्टीलाई थप सुदृढ बनाउन सकिने धारणा राखे ।





प्रतिक्रिया