प्रधानमन्त्री प्रचण्डले ओलीलाई धोका दिन लागेका हुन ?


काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियता ह्वात्तै बढेको छ। २६ पुषमा संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि ढिलाई गरिरहेका छन् । तर, उनको व्यस्तता भने झनै बढेको छ। नेपाली कांग्रेसले समेत उनलाई विश्वासको मत दिएको छ । उनले आफूलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा चित्रण गर्न थालेका छन् ।

प्रधानमन्त्री दाहालले सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिलगायतको निर्वाचनमा कांग्रेससँग पनि सहमति खोजिने अभिव्यक्ति दिएपछि एमाले वृत्तमा संशय पैदा भएको छ । मंसिर १० गते एमालेकै अग्रसरतामा बहुमत जुटेपछि दाहालले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवासमा भएको भद्र सहमतिमा प्रधानमन्त्रीमा आधा/आधा कार्यकालमा सहमति भएको थियो ।

राष्ट्रपति एमालेलाई दिने र सभामुखमा आलोपालो गर्ने सहमति भएको थियो । तर, सभामुखको निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री दाहालले भने एमालेलाई चिढ्याउनेगरि अर्कै खेल खेल्न लागेको एमाले वृत्तमा चर्चा छ । पछिल्लो समय एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीचको भेटवार्ता पनि बाक्लिएको छ । कहिले दाहाल बालकोटमा त कहिले ओली बालुवाटार धाउने काम भैरहेको छ ।

भोलि सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशन हुँदैछ । तर, प्रधानमन्त्री दाहालले भने आफ्नो कित्ता अझै पनि क्लियर नगरेको सत्ता गठबन्धनभित्रै चर्चा हुन थालेको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेसको विश्वासको मत पाएपछि एमालेमाथि बार्गेनिङको राजनीति सुरु गरेको आरोप लाग्ने गरेको छ ।उनले सभामुख एमालेलाई दिने र राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नेगरि तयारी थालेको चर्चा छ ।

प्रचण्डले धोका दिन लागेको थाहा पाएका ओलीले २६ पुषमा नै कांग्रेसले विश्वासको मत दिएर स्वार्थको राजनीति सुरु गरेको टिप्पणी गरेका थिए । त्यतिमात्रै नभएर ओलीले कांग्रेसले जाल थापेको भएपनि माछा पर्नेवाला छैन भनेर कडा टिप्पणी गरेका थिए । कांग्रेस वृत्तमा भने प्रचण्डलाई विश्वासको मत दिएसँगै अब पूरानै गठबन्धन फर्कनेबारे चर्चा चल्न थालेको छ।

हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच पनि छलफल भएको थियो । कतिपयले भने प्रचण्डको स्वार्थ के हो भन्ने कुरा माघ महिनाभित्रै प्रष्ट भैसक्ने पनि बताउने गरेका छन् ।