काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधु चौलागाईंले न्यायपालिकामा देखिएको बेथिति र विचौलियाको रजगज अन्त्य गर्न कठोर कदम चाल्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बिचौलिया संलग्न प्रकरणमा मुछिएका न्यायाधीशहरूमाथि महाअभियोग प्रस्ताव ल्याउने विषयमा छलफल भइरहेको स्पष्ट पारे ।
न्यायालयको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सांसद चौलागाईंले न्यायपालिकामाथिको जनआस्था जोगाउन महाअभियोगको बाटो अपनाउनुपर्ने स्थिति आएको बताए ।
चौलागाईंले भने, “हामीले महाअभियोगको प्रस्ताव ल्याउने गरी छलफल सुरु गरेका छौँ। बिचौलिया इनम सापकोटा प्रकरणमा संलग्न न्यायाधीशहरूमाथि महाभियोग प्रस्ताव ल्याएर कारबाही गर्छौँ। अहिले न्यायपालिकामाथिको भरोसा शून्यप्रायः भएको छ, त्यसलाई जोगाउनुपर्छ, न्यायालय सुधार्न कठोर कदम चाल्नुपर्छ।”
उनले रास्वपाबाट संसद्मा प्रतिनिधित्व गर्ने १४ जना कानुनी पृष्ठभूमि भएका सांसदहरूले न्यायालय शुद्धीकरणको विषयमा गम्भीर छलफल गरिरहेको जानकारी दिए।
सांसद चौलागाईंले कानुन समितिको बैठक आह्वान गरिएको जानकारी दिँदै प्रमाणका रूपमा बाहिर आएका विषयहरूलाई तार्किक निष्कर्षमा पुर्याइने स्पष्ट पारे । चौलागाईंले भने, “न्यायाधीश हरि फुँयालका विषयमा प्राप्त प्रमाणहरूका आधारमा यसलाई तार्किक निष्कर्षमा पुर्याउँछौँ। कानुन समितिको बैठक बोलाएका छौँ, महाअभियोग सिफारिस समिति गठन गर्ने वा नगर्ने विषयमा पार्टीलाई सुझाव दिन्छौँ।”
न्यायालयमा बिचौलिया प्रकरणमा नेपाल बार एसोसिएसनले समेत छुट्टै छानबिन समिति गठन गर्न उनले आग्रह गरे ।
सांसद चौलागाईंले जिल्ला अदालत, विशेष अदालत, सर्वोच्च अदालतदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म न्यायसँग जोडिएका सबै निकायमा बिचौलियाहरूको रजगज रहेको दाबी गरे। अदालतमा मौलाएको भ्रष्टाचार र विचौलियातन्त्र अन्त्य गर्न रास्वपा निर्ममतापूर्वक लाग्ने उनको भनाइ छ।
पुराना राजनीतिक दलहरूको प्रवृत्तिमाथि प्रहार गर्दै उनले विगतमा पनि प्रधानन्यायाधीशहरूमाथि महाअभियोग लगाइए पनि ती दलहरूले आफ्नै राजनीतिक अभीष्ट पूरा गर्न मात्रै त्यसो गरेको आरोप लगाए।
सांसद चौलागाईंले सुशासनको मुद्दामा आफ्नो दल सधैँ अडिग रहेको स्पष्ट पार्दै भने, “जनतालाई सुशासन दिन्छौँ भनेर रास्वपा आएको छ। इनम सापकोटासँग कतै वर्तमान सरकारको संलग्नता देखिए सरकारको पनि बचाउ गर्ने पक्षमा छैनौँ,” उनले भने, “रास्पवा सरकारलाई पनि गलत गर्ने छुट छैन र सरकारले गलत गरे हामी आफ्नै सरकारलाई पनि छोड्नेवाला छैनौँ।”
त्यस्तै, सुरक्षा निकायको प्रसंग कोट्याउँदै उनले विगतका पुराना दलका नेताहरूले नियुक्त गरेका उच्च पदस्थ प्रहरीहरूको लिगेसी अझै पनि पुराना दलहरूसँगै जोडिएको टिप्पणी गरे।




प्रतिक्रिया