बिचौलियाहरूले निजी मेडिकल कलेजलाई धराशायी बनाए : सांसद डा. शर्मा


काठमाडौं, १० बैशाख । नेपाली काँग्रेसका युवा नेता सांसद एवं काठमाडौं मेडिकल कलेज साथै नोबेल मेडिकल कलेजकाका सञ्चालक डा. सुनिल शर्माले मेडिकल कलेजहरूलाई विद्यार्थीलाई ४८ हजार तिर्न कुनै समस्या नरहेको बताएका छन् । आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले बिचौलियाहरूले आफ्नो लागि निजी मेडिकललाई धराशायी बनाउने काम गरिरहेको बताए ।

‘आज कलेजहरूले ४८ हजार तिर्न सकिँदैन भनेर हात उठाएर भर्ना रोकेको त थाहा पाइहाल्नु भयो । यसपालि ल बाध्यकारी भयो । भर्ना भयो । अर्को वर्ष त कलेजले सिट एप्लाइ गर्दछ । सिट एप्लाइ गर्दा अहिले ८०—१०० वटा पाइरहेको सिट १५ वटा एप्लइ गर्दछ । ८५ वटा सिट कम हुन्छ’ उनले भने । डा. शर्माले बाध्यकारी व्यवस्था लागु गरेको खण्डमा ७ देखि ८ सय एमडी एमएस पढ्न पाउने विद्यार्थी अर्को वर्षबाट वञ्चित हुने जिकिर गरे ।

समस्या केही नरहे पनि कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, एडमिसन नदिने, अर्को नयाँ समस्या झिकेर विद्यार्थीलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धीका कलेजहरू खत्तम गर्ने भन्ने षड्यन्त्र प्रेरित काम भइरहेको बताए ।

उनले भने ‘लगभग ७ देखि ८ सय एमडी एमएस पढ्न पाउने विद्यार्थी अर्को वर्षबाट वञ्चित हुन्छन् । समस्या ४८ हजारको हुँदै होइन त्यति दिन त कलेज रेडी छ त । समस्या के हो भने कसरी निजी मेडिकल कलेजलाई धराशायी बनाउने ? भर्ना रोक्ने, एड्मिसन नदिने, अर्को फण्डा गर्ने, प्रोब्लम क्रिएट गर्ने र बच्चाहरूलाई बाध्य बनाएर विदेश पढ्न पठाउने र नेपालभित्र निजी क्षेत्रका चिकित्सा शिक्षा सम्बन्धीका कलेजहरू खत्तम गर्ने । भन्ने मात्रै प्लान हो ।’

सांसद शर्माले प्रतिनिधिसभाका एकमात्र सांसदका रूपमा तलब भत्ता नलिने सांसद हुन् । उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । शिविरमार्फत उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गराउने व्यवस्था मिलाउँदै आएका छन् ।

उनको पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका बिरामीका लागि ५० शय्याको निःशुल्क क्याबिन समेत व्यवस्था गरिएको छ। कुनै पनि दलका जनताप्रति भेदभाव नगरी समान रूपले सेवा पु¥याउँदै आएका शर्माले हालै बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। उनले निजी लगानीमा देशका विभिन्न सात स्थानमा एम्बुलेन्स प्रदान गरिसकेका छन्।