काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाल ध्यान र तपोभूमिको उद्गम बिन्दु भएको बताएका छन् । अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाललाई विश्व आरोग्य (वेलनेस) पर्यटनको केन्द्र बनाउने उद्घोष गरे ।
उनले विदेशी पर्यटकलाई घुम्न मात्र नभई आफूलाई चिन्न नेपाल आउन आह्वान गरेका छन्।
पशुपतिनाथ, लुम्बिनी, जनकपुरधामदेखि मुक्तिनाथसम्म फैलिएको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्य नै नेपालको जीवित सभ्यता भएको मन्त्री पौडेलको भनाइ छ।
‘नेपाल ध्यानको उद्गम बिन्दु हो, जहाँ हजारौँ वर्षअघि ऋषिमुनिहरूले मानव चेतनाको गहिरो विज्ञान पत्ता लगाएका थिए। हाम्रो प्रकृति नै आरोग्यको केन्द्र हो,’ मन्त्री पौडेलले भने ।
सरकारले आरोग्यलाई जीवनशैली र संस्कारकै रूपमा विकास गर्ने नीतिगत प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री पौडेलले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ (आरोग्य वर्ष) का रूपमा मनाउने घोषणा गरे।
नेपाल सरकारको एकल प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएअनुसार आज (अप्रिल १५) विश्वभर ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइँदैछ । यसलाई नेपालको ऐतिहासिक कूटनीतिक र सांस्कृतिक उपलब्धि मान्दै मन्त्री पौडेलले प्रस्तावको पक्षमा उभिने सबै मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे।




प्रतिक्रिया