काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४/४ जना मन्त्री कांग्रेस र एमालेले पाएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।
यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।
यसैगरी एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।
मन्त्री पद नपाएपछि कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका छन्।




प्रतिक्रिया