काठमाडौँ । वरिष्ठ पत्रकार ऋषि धमलाले नागढुङ्गा सुरुङमार्गका कारण नेपालले इतिहास रचेको बताएका छन् । स्थलगत रिपोर्टिङका क्रममा बुधबार सुरुङमार्ग पुगेका धमलाले यो सुरुङमार्ग सामान्य कुरा नभई एउटा ठूलो क्रान्ति भएको स्पष्ट पारे । साथै उनले नेपाल अब सुरुङ युगमा प्रवेश गरेको पनि उल्लेख गरे ।
धमलाले भने, ‘अहिले म इतिहास बनिरहेको नागढुङ्गा सुरुङमार्ग छु । आज नेपालले एउटा ठूलो फड्को मारेको छ। वर्षौंदेखिको नेपालीको सपना अब पूरा हुँदैछ। सुरुङले अब काठमाडौँ र धादिङ जिल्ला जोडिएको छ ।’
नागढुङ्गा सुरुङमार्ग नेपालको गौरव र इतिहासकै सबैभन्दा ठूलो सफलता भएको धमलाको भनाइ छ । यो सुरुङमार्गले देशको समृद्धिको ढोका खोल्ने पनि वरिष्ठ पत्रकार धमलाको विश्वास छ ।
साथै, धमलाले जनता जाममा परेर हैरान भएकाले ढिलासुस्ती नगरी तत्काल सुरुङमार्गबाट गाडी सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
धमलाले भने, ‘नागढुङ्गा सुरुङमार्गको यो सफलताले अब अरू सुरुङमार्ग बनाउने बाटो पनि खोलेको छ। विकासको लहर अब रोकिने छैन।’
सत्ता र शक्तिलाई सिधै प्रश्न गर्दै धमलाले स्थलगत प्रत्यक्ष रिपोर्टिङका क्रममा प्रधानमन्त्री र मन्त्रीहरूलाई सम्बोधन गर्दै यो परियोजना कसको पालामा सुरु भयो र कसले सम्पन्न गर्यो भनेर जस लिने होडबाजी नगरी छिटो यातायातका साधन सञ्चालन गर्न जोड दिए । राजनीतिक नेतृत्वले जनतालाई सुविधा दिनुपर्नेमा पनि धमलाको जोड थियो ।




प्रतिक्रिया