करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि छानबिन समिति गठन


काठमाडौँ । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इ-एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ।

प्रणालीमा ठूलो सङ्ख्यामा विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरतापूर्वक लिँदै सत्यतथ्य अध्ययन गर्न मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरेको हो।

बिहीबार गठित समितिको संयोजकमा मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटा रहेका छन्। समितिका सदस्यमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल छन्। विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ।

मन्त्रालयको अनौपचारिक अध्ययनअनुसार इ-एमआईएसमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएको छ। यसरी दोहोरो विवरणका आधारमा राज्यकोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, विद्यालय पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवा–सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा छानबिन अघि बढाइएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।

मन्त्री पोखरेलले दोहोरो विवरण राखेर सरकारी रकम दुरुपयोग भएको हुन सक्ने विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छानबिनपछि दोषी देखिनेहरूमाथि कारबाही गरिने स्पष्ट पारे।

समितिले इ-एमआईएसमा यति ठूलो सङ्ख्यामा विद्यार्थीको विवरण दोहोरिनुको कारण, त्यसमा देखिएको प्राविधिक कमजोरी तथा नियतवश गलत विवरण प्रविष्ट गरिएको हो वा होइन भन्ने विषयमा विस्तृत अध्ययन गर्नेछ।

गलत तथ्याङ्क पेस गरी राज्यकोषबाट प्राप्त हुने अनुदान तथा अन्य सुविधाको दुरुपयोग भएको पाइएमा सम्बन्धित विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिमाथि आवश्यक कारबाही गर्न मन्त्रालयसमक्ष सिफारिस गर्ने कार्यादेश समितिलाई दिइएको छ।