गगन थापाको सरकारलाई प्रश्न- ‘राजस्व नउठ्ने नीतिले नागरिकलाई किन सास्ती ?


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यावहारिक र हेपाहा भएको बताएका छन् । सर्लाहीको सीमावर्ती क्षेत्रको भ्रमणपछि सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले उक्त निर्णयले सीमा क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनाएको उल्लेख गरेका छन् ।

सर्लाहीको मधुवनीबाट फर्किएपछि थापाले राज्यको नीतिले नागरिकमा छटपटी र आक्रोश बढाएको बताएका हुन् । संघीय सरकारले कडाइका साथ लागू गर्न खोजेको यो व्यवस्थाले विशेषगरी मधेसका श्रमिक, महिला र किसान मारमा परेको उनको ठम्याइ छ ।

‘ज्यालादारी काम गर्न भारत गएर फर्किएका मजदुर बिस्कुटको एक प्याकेट लिएर आउँदा २ घण्टा सीमामा रोकिनुपरेको छ,’ थापाले भनेका छन्, ‘पहिले सम्मानका साथ सीमा पार गर्ने नागरिक अहिले डरका साथ हिँड्नुपर्ने अवस्था आएको छ । यसले राज्यको चरित्रमाथि नै प्रश्न उठाएको छ ।’

थापाले यो कानुन विगतमै बनेको र आफ्नो पार्टी नेतृत्वको सरकार हुँदासमेत कागजमा रहेको स्वीकार गरेका छन् । यद्यपि, अव्यावहारिक भएकै कारण यसअघि लागू नगरिएको दाबी गर्दै उनले समयमै सच्याउन नसक्नु राजनीतिक कमजोरी भएको बताएका छन् ।

भन्सार विभागले नै यो प्रावधानबाट उल्लेखनीय राजस्व नउठ्ने स्वीकार गरेको उल्लेख गर्दै थापाले प्रश्न गरेका छन्— ‘त्यसो भए यो दुःख आखिर किन र कसका लागि ?’
उनले सय रुपैयाँको भन्सार नीति तत्काल फिर्ता लिन र सीमा क्षेत्रमा पहिलेको जस्तै सहज आवतजावत सुनिश्चित गर्न माग गरेका छन् ।

थापाले सीमान्त क्षेत्र राष्ट्रका किनारा मात्र नभई अर्थतन्त्र र संस्कृतिका जीवित संगम भएको बताउँदै राज्यले आफ्नै नागरिकलाई सजाय दिने काम बन्द गर्नुपर्ने बताएका छन् ।